काठमाडौं, साउन १३: पार्टी एकीकरण भएको ढेड बर्ष अवधिमा जटिल मानिएका सांंगठानिक एकीकरणको काम नेपाल कम्युनिष्ट पार्टीले सम्पन्न गरिसकेको छ । केन्द्रीय सदस्यहरुको कार्य विभाजन, प्रदेश कमिटीको पदाधिकारी, जिल्ला कमिटीको अध्यक्ष र सचिव, जनवर्गीय संगठनको एकीकरणको काम सम्पन्न गरिसकेको छ ।
एकीकरण अन्तर्गत विभाग र आयोगका प्रमुखहरुको टुंगो लगाउने काममात्र बाँकी रहेको छ । पटक–पटक सांगठानिक एकीकरणको विवादमा रुमलिदै आएको नेकपा भित्र पूर्व एमाले र पूर्व माओवादी समुहबीच प्रतिष्ठानको विषय समेत बन्नपुगेको छ ।
सांगठानिक एकीकरणको विषयलाई लिएर विवाद उत्कर्ष लामो समयसम्म पनि संवाद नहुने अवस्थाबाट नेकपा गुज्रिदै आएको छ । जटिल मानिएको सांगठानिक एकीकरणको काम सम्पन्न भएर बाँकी एकतालाई पूर्णतादिने अन्तिम तयारीमा पुगेपनि स्कुल विभाग कसले लिने भन्ने विषयलाई प्रतिष्ठा बनाएपछि एक साता अघि नै सम्पन्न हुने एकता प्रक्रिया लम्बिदै गएको छ ।
नेकपाका नेता भीम रावलले जटिल मानिएका काम सम्पन्न भइसकेको अवस्थामा स्कुल विभागलाई नै लिएर विवाद गर्नुपर्ने आवश्यकता नरहेको बताए । उनले भने–पार्टी एकीकरणको काम अझै बाँकी छन्, तर विभागलाई पूर्णता दिन यति धेरै समय लगाएर विवाद जस्तो नदेखाउदा राम्रो हो ।
स्कुल विभागको नेतृत्वमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले अडान राखेपछि सचिवालय बैठकमा विवाद हुँदै आएको छ । विवाद समाधानकालागि अध्यक्षद्धय केपीशर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनालबीच पटक–पटक छलफल भएपनि सहमति जुटन सकेको छैन् ।
नेकपाका नेता हरिबोल गजुरेलले स्कुल विभागको बारेमा पार्टी अल्झिन नहुने बताए । उनले भने–पार्टी एकीकरणको बाँकी काम सम्पन्न गरेर अगाडि बढनु पर्छ, जति लम्बिदै गयो विवाद मिलाउन त्यति नै जटिलता थपिदै जान्छ ।
स्कुल विभागको प्रमुखमा ईश्वर पोखरेले दावी गरेपछि नेकपा भित्रविवाद बढेको हो । उनले सार्वजनिक रुपमा जनताको बहुदलिय जनवाद नै पार्टीको कार्य दिशा हुनुपर्ने विषयलाई उठान गरेपछि पूर्व एमाले र पूर्व माओवादीबीच जुहारी नै चलेको थियो ।
जसको कारण सचिवालय बैठक समेत लामो समय लम्बिनपुगेको थियो । बैचारिक विवाद उठान भएसँगै पूर्व सहमति भइसकेको पार्टीको राजनीतिक प्रतिवेदन समेत सच्याउनु पर्ने विषयले प्रवेश पाएको थियो ।
पार्टी एकतापूर्व अध्यक्षद्धय ओली र प्रचण्डबीच भएको सहमति अनुसार प्रचण्डले आधा–आधा कार्यकाल प्रधानमन्त्री र पार्टी अध्यक्ष लिने सहमति भएको विषयलाई सार्वजनिक गरेपछि पार्टीभित्र तरङ ल्याएको थियो ।
एकीकरणको काम सम्पन्न हुने चरणमा पुगेको बेला पुनः स्कुल विभागमा पुगेर नेकपा भित्रको विवादउत्कर्षमा पुगेको छ ।
सोमवार बसेको सचिवालय बैठकमा पनि स्कुल विभागको बारेमा कुनै छलफल नै हुन सकेन । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्कुल विभागको बारेमा बैठकमा छलफल नभएको जानकारी दिए । प्रदेश समन्वय समिति र विशेष समितिबारे सामान्य छलफल भएको र गृहकार्य नपुगेकाले सबैसँग रुचिबारे सोधेर आगामी साउन २८ गते बैठक बस्ने सहमतिभएको उनले जानकारी दिए।
मलाई हेग लगेपनि फरक पर्दैनः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउन प्रतिक्रियावादी शक्तिहरु लागि परेको बताएका छन् ।
उनले पार्टीका नेताहरुलाई अन्तराष्ट्रिय अदालतमा उभ्याउने जस्ता प्रचारहरु गरिरहेको बताउँदै आफूलाई अन्तराष्ट्रिय अदालतमा उभ्याएपनि केही फरक नपर्ने बताएको हो ।
कतिपयले प्रचण्डलाई अन्तराष्ट्रिय अदालतमा लाने र एक दिनभएपनि जेल हाल्ने कुरा एउटा डिजाइन अन्तरगत भइरहेको बताए । यो परिवर्तन नचाहने तत्वहरु लागिरहेको दावी गरे । ‘मलाई हेग लगे पनि केही फरक पर्दैन । मलाई हेग लगियो भने म विश्वकै हिरो भएर निस्कन्छु’,उनले भने–‘संसार भरकै जनताले चिन्ने हुन्छु ।
सोमाबार बिहान आफ्नो निवास खुमलटारमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वका नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले आन्दोलनको त्याग र तपस्या बाट प्राप्त भएका उपलब्धीलाई उपयोग गर्दै समाजवादको दिशातिर नयाँ तरिकाले अगाडि बढ्नु पर्ने बताए।
दुबै अध्यक्ष बिदेश जादै
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै विदेश यात्रामा निस्कने भएपछि लामो समयदेखि विवादित बन्न पुगेका स्कुल लगायत अन्य विभाग गठनको टुंगो फेरि अनिर्णित बनेको छ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली स्वास्थ्य उपचारकालागि साउन १८ गते सिंगापुर र दाहाल पत्नी सीता, छोरी रेनु र नातिनातिनासहित साउन १४ गते बिहान नै दुबई जाने भएपछि अध्यक्षद्धयले सोमबारको केन्द्रीय सचिवालय बैठकमा विभागका बारेमा छलफल नै नगरेको नेकपाले जनाएको छ । नेपाल समाचारपत्रमा प्रकाशित