नेकपाको स्थायी कमिटी बैठक एक साताका लागि लम्बियो

रिपोर्ट नेपाल | 2020 Jul 10 | 11:14 am 2302

काठमाडौं, असार २६ः पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक फेरि एक साताका लागि लम्बिएको छ ।

शुक्रबार ११ बजे बस्ने भनिएको पूर्व निर्धारित बैठक स्थगित गरेर ७ दिन पर सारिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यसअघि दुई अध्यक्षबीचको असमाझदारीका कारण असार २०, २२ र २४ गते बस्ने भनिएको बैठक सर्दै २६ गतेसम्म आईपुगेको थियो । तर, अझैसम्म दुई अध्यक्षबीच समाझदारी नभएको र मुलुकमा भैरहेको प्राकृतिक विपत्तिका कारणले जनधनको ठूलो क्षति भैरहेका कारण पार्टी पङ्तिलाई उद्धार र राहतमा जुट्नुपर्ने भएको स्थायी कमिटी बैठक स्थगित गर्नुपरेको प्रवक्ता श्रेष्ठले बताए।

उनले पार्टी पङ्तिलाई सम्भावित बाढी पहिरोबाट बचाउनमा समेत लाग्न केन्द्रीय कार्यसमितिको तर्फबाट निर्देशन दिएका छन् । आन्तरिक किचलोमा परेको नेकपामा अध्यक्षसमेत रह्का प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अन्य बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल असन्तुष्ट रहेका छन् ।

ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने उनीहरुको माग रहेको छ । तर प्रधानमन्त्री ओली दुवै पद त्याग्न तयार छैनन् । यसका कारण पार्टी विभाजनको संघारमा समेत पुगेको छ । तर, नेकपाका दोस्रो पुस्ताका नेताहरुले पार्टी विभाजन तर्फ नगई दुई अध्यक्षबीचमा समाझदारी निर्माण गरेर एकता कायम गर्न दवाव दिइरहेका छन् । यसबीचमा दुई अध्यक्षबीच पटकपटक भेट भएपनि वार्ता सफल हुनसकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.