नेकपाको प्रदेश, जिल्ला र जनसंगठनको मर्यादाक्रम तोकियो, एकता साउनभित्रै

रिपोर्ट नेपाल | 2018 Jul 29 | 08:07 am 1450

काठमाडौं, साउन १३: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनसंगठन तथा पेसागत संगठनसहित सबै तहको कमिटी र नेताहरूको मर्यादाक्रम तय गर्दै विधान र नियमावलीलाई अन्तिम रूप दिएको छ। स्थायी कमिटीको सुझावअनुसार केन्द्रीय सचिवालयले अन्तिम रूप दिएको विधानमा तीनै तहका कमिटी र जनसंगठन तथा पेसागत संगठन र सो कमिटीमा रहने नेताहरूको मर्यादाक्रम तोकी विधान र नियमावलीलाई अन्तिम रूप दिइएको हो ।

विधानमा गरिएको व्यवस्थाअनुसार जनसंगठनका अध्यक्ष राष्ट्रिय परिषद् सदस्य, पदाधिकारी प्रदेश कमिटी सदस्य, सचिवालय सदस्य जिल्ला कमिटी सचिवालय सदस्य र केन्द्रीय सदस्यको मर्यादा जिल्ला कमिटी सदस्यसरह रहेको छ । राष्ट्रिय परिषद्मा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, आयोगका पदाधिकारी तथा सदस्य, सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी तथा सदस्यहरू सदस्य रहनेछन् ।

यसैगरी प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका अध्यक्ष, केन्द्रीय विभागका सचिव राष्ट्रिय परिषद् सदस्य रहने व्यवस्था गरिएको छ । परिषद्मा पदेन सदस्य संख्याको २५ प्रतिशतभन्दा बढी नहुने गरी केन्द्रीय कमिटीबाट मनोनीत हुने व्यवस्था गरिएको छ । यस्तै केन्द्रीय कमिटीको कुल संख्याको ५० प्रतिशतभन्दा बढी नहुने गरी केन्द्रीय सल्लाहकार परिषद् रहने व्यवस्था गरिएको छ ।

यस्तै केन्द्रीय अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोगमा अध्यक्ष र सचिवसहित ३१ सदस्यीय हुने व्यवस्था गरिएको छ । आयोग अध्यक्ष स्थायी कमिटी र अन्यले केन्द्रीय कमिटी बैठकमा भाग लिने तथा सबै आयोगका सदस्यहरूको मर्यादा केन्द्रीय कमिटी स्दस्यसरह हुने व्यवस्था गरिएको छ । जेष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षको मर्यादा भने पोलिटब्युरो सदस्य र अन्यको केन्द्रीय कमिटी सदस्यसरह तोकिएको छ ।

नेकपाले केन्द्र, प्रदेश र स्थानीय तह गरी नौ तहका कमिटी रहने व्यवस्था गरेको छ । स्थानीय कमिटीमा सात ओटा कमिटी रहने व्यवस्था गरिएको छ । जसमा जिल्ला कमिटी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, महानगर वा उपमहानगर वा नगर वा गाउँ कमिटी, वडा वा शाखा कमिटी, टोल वा प्रारभ्मिक कमिटी र पार्टी सेल रहने व्यवस्था विधानमा गरिएको हो ।

यस अतिरिक्त प्रदेश कमिटी सरहको मर्यादामा रहने गरी सम्पर्क समन्वय कमिटीको व्यवस्था गरिएको छ । यसैगरी काठमाडौं उपत्यकामा पाँच ओटा विशेष जिल्ला कमिटी रहने व्यवस्था विधानले गरेको छ । जसमा मजदुर, युवा–विद्यार्थी, पेसागत, उद्यमी–व्यवसायी विशेष जिल्ला कमिटी र प्रदेश सम्पर्क कमिटी रहनेछन् । सम्पर्क समन्वय कमिटीको मातहतमा जिल्ला कमिटी सरहका प्रदेश सम्पर्क कमिटी रहने व्यवस्था गरिएको छ ।

नेकपाले जनसंगठन तथा पेसागत संगठनको आकार खुला राखेको छ भने प्रदेश कमिटीमा अध्यक्ष र सचिवसहित १ सय ५१ सदस्यीय रहने, आवश्यकताअनुसार सो संख्यामा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बरावर दुईका दरले सदस्य थप्न सक्ने व्यवस्था गरेको छ । प्रदेश कमिटीमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य रहने तर उनीहरूको गणना १ सय ५१ सदस्यमा नहुने व्यवस्था पनि गरिएको छ ।

केन्द्रीय सदस्यको हकमा एक मुख्य जिम्मेवारी र अर्को सहायक जिम्मेवारी दिइने व्यवस्था गरेको छ । नेकपाले राष्ट्रिय महाधिवेशनको प्रतिनिधि, केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य, स्थायी कमिटी, पदाधिकारी र अध्यक्षको योग्यतासमेत तोकेको छ । जसअनुसार महाधिवेशन प्रतिनिधि चुनिन संगठित सदस्य भई कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने, महिला, दलित, सीमान्तकृत, जनजाति, अपांगता भएका व्यक्तिको हकमा सात वर्ष कायम गरिएको छ ।

यसैगरी केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्य हुन कम्तीमा एक कार्यकाल पोलिटब्युरो सदस्य, पोलिटब्युरो हुन कम्तीमा एक कार्यकाल केन्द्रीय सदस्य भएको हुनुपर्नेछ । यस्तै केन्द्रीय कमिटी सदस्य हुनका लागि केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भई काम गरेको वा संगठित सदस्य भई १२ वर्ष काम गरेको र प्रदेश कमिटी सदस्य भई एक कार्यकाल वा जिल्ला कमिटी सदस्य भई दुई कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

महिला, दलित, सीमान्तकृत, जनजाति र अपांगता भएका व्यक्तिको हकमा संगठित सदस्य भएको नौ वर्ष र कम्तीमा दुई कार्यकाल जिल्ला कमिटी सदस्य भई काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी केन्द्रीय अध्यक्षले अर्का अध्यक्ष र अन्य कमिटीका अध्यक्षले सचिवलाई कार्यवाहक जिम्मेवारी दिनुपर्ने व्यवस्था पनि गरिएको छ ।

नेकपाले भूगोलका जिल्ला कमिटीमा प्रदेश कमिटी सदस्यबाहेक १ सय ५१ सदस्यीय रहने, आवश्यक भएमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर १० जनाका दरले सदस्य थप्न सकिने व्यवस्था गरेको छ । यस्तै विशेष जिल्ला कमिटी ७५, महानगर कमिटी १ सय २५, उपमहानगर १ सय १, नगर ८१ र गाउँ कमिटी ७५ सदस्यीय रहने व्यवस्था गरेको छ ।

यस्तै महानगरका वडा कमिटी ४५, उपमहानगरका वडा कमिटी ३५, नगर, गाउँका वडा र शाखा कमिटी २९, नगर र गाउँका टोल र प्रारम्भिक कमिटी १९ र पार्टी सेल १५ सदस्यीय हुने व्यवस्था गरेको छ । विधानमा साधरण सदस्य वडा कमिटीले दिने, संगठित सदस्य जिल्ला कमिटीले मातहत कमिटीको सिफारिसमा प्रदान गरी अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाउने व्यवस्था गरेको छ ।

नेकपाले अधिकांश भ्रातृसंगठनको एकीकरण साउनभित्रै गर्ने तयारी थालेको छ। एकताका लागि गठित कार्यदललाई साउनभित्रै एकीकरण गरिसक्न निर्देशन दिइएपछि सोहीअनुसार काम अघि बढिरहेको कार्यदल सदस्यहरूले बताए।

निर्देशनलगत्तै शनिबार तत्कालीन एमाले र माओवादी केन्द्रका इन्जिनियरहरूको भ्रातृसंगठनबीच एकता भएको छ। यसैबीच, प्रेस चौतारी र प्रेस सेन्टरको एकीकरण तयारी अन्तिम चरणमा पुगेको छ।

‘हामीले सकेसम्म साउनभित्रै एकता सम्पन्न गरिसक्न निर्देशन दिएका छौँ,’ नेकपाका महासचिव विष्णु पौडेलले भने, ‘विधान र नियमावली प्रकाशन भइसकेकाले अब भ्रातृसंगठन र तल्ला कमिटीहरूको एकता प्रक्रिया सम्पन्न भइसकेपछि सातवटै प्रदेशमा ठूला प्रकृतिका आमसभा आयोजना गरेर लाखौँको जनपरिचालन गर्नेछौँ।’ नयाँपत्रिका र सौर्यदैनिकको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.