नेकपाको आन्तरिक द्वन्द्वले सरकार ५ वर्ष टिक्दैन : नेता गुरु घिमिरे

| 2018 Aug 01 | 04:01 pm 2022

बुटवल,  साउन १६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले ओली-प्रचण्डले ईश्वरले शासन गर्न पठाएर आए जस्तो रवैया देखाएको आरोप लगाएका छन् । जनताको हित विपरीत, संविधानको मर्म विपरीत निर्णयहरू गर्दै गइरहेकाले यस्लार्इ  तत्काल पर्ने चेतावनी समेत दिए ।

रिपोर्टर्स क्लब प्रदेश ५ ले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै घिमिरेले सरकारले देखाएको रवैयाका कारण कांग्रेसले आफ्ना माग बोकेर सडकमा जानुपरेको प्रष्ट पारे ।

प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको उल्लंघन गरेको उनको आरोप छ ।  ‘सांसदको शपथ नखाँदै ओलीले सोझै प्रधानमन्त्रीको शपथ खाने ?,राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका ३ जनाको सिफारिसलाई धेरैदिनसम्म झुलाएर नयाँ सरकार बनेपछि फेरि ३ जनालाई मनोनयन गरेर संविधानको उल्लंघन शुरु गर्नुभयो ।’ उनले भने, ‘५ वर्षका लागि सरकार बनेको हो ,चुनाव जित्न जनता रिझाउन सक्नुपर्छ ,त्यसै ५० वर्ष कम्युनिष्ट सरकार बन्छ,जित्छ भनेर जनता धम्काएर जितिन्छ’ ?  ।

जोशीलाई प्रधानन्यायाधीश नबनाउने षडयन्त्र

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश नबनाउने षडयन्त्र भइरहेको उनको भनाइ छ । उनले भने ‘संवैधानिक परिषद्को सिफारिस,न्यायरिषदको अनुमोदन,सर्वोच्चता अदालतको सिफारिस पूरा गरेर आएको ब्याक्तिलाइ घरी शैक्षिक प्रमाणपत्रको कुरा उठाएर,घरी न्यायसम्पादनको कुरा उठाएर प्रधानन्यायाधीश नबनाउने षडयन्त्र भएको छ । ’

उनले नेकपा भित्र आन्तरिक द्वन्द्वका कारण नै सरकार ५ वर्ष नटिक्ने ठोकुवा गरे । उनले भने ‘नेकपा प्रवक्ता राजीनामा दिएका छन्, गोविन्द केसीको अनसनमा नेकपाका धेरै सभासदको समर्थन थियो,यस्तै कारण सरकार टिक्दैन’ ।

फुटबलका पेले जस्तै नेपाली राजनीतिमा कांग्रेस सभापति शेरबहादुर देउवा पेले भएको उनको टिप्पणी छ । उनले भने ‘४ पटक प्रधानमन्त्री बन्नुभयो ,सभापति बन्नुभयो,अब हामीले तपाइहरूलाई धेरै भारी बोकाए पाप लाग्छ ,शेरबहादुर दाइ,रामचन्द्र दाइहरू मैदानको किनारामा बसेर ताली बजाउनुस्,हौसला दिनुस् अब हामी छौँ ।’

फुटबलको उदाहरण दिँदै उनले पेले कुनै बेला राम्रै खेल्थे तर अहिले दर्शकदीर्घामा बसेर ताली पिटेर हौसला दिने गरेको सुनाए । उनले अब पार्टी नयाँ शिराबाट अगाडि बढाउनुपर्ने धारणा राखे । कार्यक्रम रिपोर्टर्स क्लब प्रदेश ५ का प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.