नेकपाका बागी उम्मेद्वार घर्तीमगर ‘अपहरित’, हेलिकप्टर चढाएर ल्याउँदा पनि फिर्ता भएन उम्मेद्वारी

| 2019 Nov 10 | 04:11 pm 1420

बागलुङ, कात्तिक २४ : बागलुङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ का स्वतन्त्र उम्मेद्वार शेरमान घर्तीमगरलाई अपहरण गरिएको नेकपा बागलुङले आरोप लगाएको छ ।

नेकपाको आधिकारिक उम्मेद्वार बन्न नपाएपछि स्वतन्त्र उम्मेद्वारी दिएका घर्तीमगरको उम्मेद्वारी फिर्ता रोक्नका लागि अपहरण गरिएको नेकपा बागलुङको दावी छ । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ताका लागि तोकिएको समयअघि शेरमान घर्तीमगर अपहरणमा परेको नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले बताएका छन् । अपहरणमा परेकै कारण उनको उम्मेदवारी फिर्ता हुन नसकेको अध्यक्ष सापकोटाले बताएका छन् ।

‘उहाँलाई उम्मेदवारी फिर्ता लिनबाट रोक्न केही व्यक्तिहरुले अपहरण गरेको पाइयो । पछि प्रहरीको सहयोगमा उद्दार गरी जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा ल्याउँदा उम्मेद्वारी फिर्ता लिने समय घर्किसकेकाले उम्मेदवारी फिर्ता हुन सकेन ।’

उनले भने, ‘नियोजित रुपमा उम्मेद्वारी फिर्ता हुने समय घर्काउनका लागि नै अपहरण गरेको देखियो । ‘अहिले हामी छलफलमै छौं ।’ घटनाका विषयमा जानकारी संकलन गर्ने काम भइरहेको बताउँदै उनले घर्तीलाई कसले अपहरण गरेको हो भन्ने कुरा चाँडै नै खुल्ने बताए ।

प्रहरीले उनलाई बुर्तिबाङ बजारस्थित स्थानीय नेता तुलसी अर्यालको घरमा फेला पारेर हेलिकप्टरमार्फत बागलुङ बजार लगिएको स्रोतले जानकारी दिएको छ । अर्याल २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेद्वार रहेका थिए ।

प्रभू एयरको हेलिकप्टरमार्फत उनलाई बागलुङ बजार लगिएको भए पनि २० मिनेट ढिला भएकाले उम्मेदवारी फिर्ता हुन नसकेको जनाइएको छ । निर्वाचन आयोगले उम्मेद्वारी फिर्ता लिने समय बिहान १० देखि १ बजेको लागि तोकेकोमा उनी करीब २० मिनेट ढिला गरी निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

जिल्ला निर्वाचन अधिकृत विकाशचन्द्र शर्माले घर्तीको उम्मेदवारी फिर्ता नभएको भन्दै उनको नाम पनि समेटेर अन्तिम नामावली सार्वजनिक गरिने बताएका छन् ।

नेकपा केन्द्रको निर्णयअनुसार बागलुङ प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाहीलाई सघाउने तय भएको थियो । तर सो निर्णय अस्वीकार गर्दै पूर्व माओवादी निकट घर्तीले बागी उम्मेदवारी दिएका थिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कात्तिक २१ गते घर्तीसहित बागलुङ निर्वाचन क्षेत्र नं. २ को (ख) मा रिक्त प्रदेश सभा सदस्य पदमा रा.प्र.पा. (संयुक्त) का निमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार बि.क., राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, सन्तोष भण्डारी (स्वतन्त्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, नेपाली काँग्रेसका जितबहादुर शेरचन, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले, मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगर गरी जम्मा १० जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले केहि दिनअघि मात्र वागी उम्मेद्वारी दिएका नेता नेकपाकै भएको खण्डमा उम्मेद्वारी फिर्ता गराउने बताएका थिए । घर्तीमगरले पार्टीले पटक–पटक अर्को दलसँग तालमेल गर्दा आफूहरुको नेता बन्ने पालो मिचिएको भन्दै गुनासो गर्दै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.