नेकपा सचिवालय बैठक आज, एक दर्जन एजेन्डा

| 2018 Oct 24 | 08:06 am 1644

काठमाडौं, कार्तिक ७: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक बुधबार बस्ने भएको छ। आइतबार र सोमबार बसेको सचिवालय बैठकले सांसद रामवीर मानन्धरले राजीनामाका लागि मागेको अनुमति, वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको निर्णयमा राखेको असहमतिपत्रको एजेन्डामा निर्णय गरेको थियो।

सचिवालय बैठकमा पार्टी एकीकरण, जनसंगठनहरूको एकीकरण, सरकार र संसद्को कामको समीक्षा, पोलिटब्युरो, केन्द्रीय विभाग र केन्द्रीय निकायहरूको गठनलगायतका करिब एक दर्जन एजेन्डा प्रस्तावित छन्। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बोलाइएको बैठकमा पार्टी एकताको एजेन्डामा केन्द्रित हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

नेपाल–श्रेष्ठको ‘नोट अफ डिसेन्ट’ स्थायी समितिमा

सोमबारको बैठकमा प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयनसम्बन्धी निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘नोट अफ डिसेन्ट’ दर्ज गराएका थिए। उनीहरूले राखेको असहमतिबारे स्थायी समितिमा पनि छलफल गर्नेगरी बैठकले प्रदेश नेतृत्व चयनसम्बन्धी ५ असोजमा बसेको सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्ने सोमबारको बैठकले निर्णय गरेको थियो। १२ र १३ कात्तिकमा नेकपाले स्थायी समिति बैठक बोलाएको छ।

नयाँ गुट उदयको संकेत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नयाँ गुटको जन्म भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरेका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपाले चयन गरेको प्रदेश पदाधिकारी विधि, प्रक्रिया र पद्धतिप्रति नेपाल र श्रेष्ठले चर्को आलोचना गर्दै आएका थिए ।

उनीहरूले सोमबारको सचिवालय बैठकमा सचिवालयको अघिल्लो निर्णय सदर गर्न गरिएको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेर पार्टीभित्र नयाँ गुटको जन्म दिएका हुन् ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कमजोरी सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि पार्टीमा बल्झेको विवाद साम्य भएको जस्तो देखिए पनि नेपाल र श्रेष्ठले असहमति जनाएका छन् ।

एक महिनाअघि ५ असोजमा बसेको सचिवालय बैठकले सातवटै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो । वरिष्ठ नेता नेपाल र नेता श्रेष्ठ विदेशमा भएका बेला गरिएको निर्णय विधि, प्रक्रिया र पद्धतिविपरीत भएको भनाइ दुवै नेताको रहेको छ ।

सोमबारको बैठकले सो निर्णय नउल्टयाए पनि सो विषयमा पार्टीको स्थायी कमिटी बैठकमा छलफल गर्ने ऐजेन्डा बन्ने भएको छ । पुरानै निर्णय कार्यान्वयन गर्ने सहमतिसँगै नेपाल र श्रेष्ठले लिखित रूपमा असहमति जनाएपछि स्थायी कमिटी बैठकमा त्यसबारे छलफल हुने भएको हो।

नेताद्वय नेपाल र श्रेष्ठले पार्टी एकतासम्बन्धी सबै निर्णय सर्वसम्मत गर्ने भनिए पनि सो नियम अध्यक्षद्वय ओली र दाहालले नै उल्लंघन गरेको दाबी गर्दै पार्टी विधि, प्रक्रिया र पद्धति सम्मत रूपमा गर्नुपर्ने माग गरेका छन् ।

श्रेष्ठ र पोखरेल चीन भ्रमणमा

नेकपा सचिवालय सदस्य रहेका दुई नेता चीन भ्रमणमा छन्। रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल सोमबार तथा प्रवक्ता श्रेष्ठ मंगलबार चीन भ्रमणमा गएका हुन् । श्रेष्ठ स्थायी समिति बैठक अगावै स्वदेश फर्कनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.