नेकपा कमजोर हुन्छ र पालो आउला भनेर सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

| 2019 Feb 13 | 04:24 pm 2132

काठमाडौं, फागुन  १ :  प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कसैले आफू नेतृत्वको सरकार र नेकपा कमजोर भए पालो आउला भनेर सोचेको भए त्यो सपना नदेख्न चेतावनी दिएका छन् । बुधबार ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले बहुमतको सरकारले नेपाली जनताले चाहेको काम पुरा गर्न थालेको बताए।

भैसी, भैसीका पाडा र भैसी पाल्नेका लागि भने त्यही दिन राम्रो हुने उल्लेख गर्दै प्रम ओलीले नेपाली जनता पनि यही दिन देख्नका लागि हो भएको बताए। प्रधानमन्त्री ओलीले भने, ‘भैंसी हेरेर एउटा जीवले भन्छ, मरेपछि खाउँला । तर भैंसी मर्नुको सट्टा झन्झन् मोटाउँछ, ब्याउँछ, पाडापाडी पनि पाउँछ । अनि त्यो जीवले भन्छ, म यही दिन देख्नका लागि बाँचेको थिएँ ? तर भैंसी पाल्नेले त्यही दिन देख्नका लागि पालेको हो । र, नेपालीले देख्न चाहेको पनि त्यही दिन हो ।’

प्रधानमन्त्री ओलीले अर्काे किस्सा जोडे ।

दुबैले पत्याउँदैनन्, फेरि भन्ने ।
बा, पत्याउनुहुन्न तर के गर्ने, आमा भरे मुख सुँघ्न आउँछे ।
आमाको कानमा गएर भन्ने, तपाईँ पत्याउनु हुन्न । गएर मुख सुँघ्नुस् न कस्तो गनाउँछ ?
नभन्दै आमाले गएर मुख सुँघ्छे । रक्सी त गनाएको हुँदैन तर, बाउलाई पक्का हुन्छ कि मुख त सुँघ्न आई । बोक्सी त रहिछे ।

 बेरोजगारलाई सय दिनको भत्ता

सरकारले अब प्रत्येक फागुन १ गते श्रम दिवस र रोजगारी दिवसका रुपमा मनाइने उल्लेख गर्दै ओलीले विदेशसँग कुनै कार्ड प्रयोग नगरेकोसमेत बताए। असन्तुष्टि फैलाउने र भ्रम फिजाउँने काम आग्रगमनको पक्षमा नभएको उनको भनाई थियो। देश विकासको बाटोमा लम्केको उल्लेख गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम सफल हुने दाबी प्रधानमन्त्रीले गरे। ओलीले नेपालमा गरिबि र बेरोजगारी रहन नहुने बताए।

कार्यक्रमको सबैभन्दा महत्तवपूर्ण पक्ष सरकारले एक आर्थिक वर्षमा न्यूनतम १ सय दिनको रोजगारी दिन नसके १ सय दिनकै निर्वाह भत्ता दिनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिकाअनुसार परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाए, सरकारको मापदण्डभन्दा थोरै वार्षिक आय भएका परिवार र परिवारको कुनै सदस्य स्वरोजगार नभएको अवस्थामा तथा परिवारका एकजना पनि सदस्य वैदेशिक रोजगारीमा नगएको अवस्थामा सरकारले निर्वाह भत्ता दिने घोषणा गरिएको छ।

यस्तो छ प्रक्रिया

यसमा  कुनै पनि रोजगारमा संलग्न नभएको वा न्यूनतम आयआर्जन हुने स्वरोजगारमा संलग्न नरहेका १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई एक आर्थिक वर्षमा न्यूनतम सय दिनको रोजगारी उपलब्ध गराइने छ ।  यस कार्यक्रमलाई प्रभावकारीरुपमा लागू गर्न ७५३ वटै स्थानीय तहमा ‘रोजगार सेवा केन्द्र’ स्थापना गर्नुपर्ने व्यवस्था गरिएको छ । बेरोजगारले न्यूनतम रोजगारमा संलग्न हुन चाहेमा आफूसँग भएको सीप, योग्यता वा क्षमता उल्लेख गरी सेवा केन्द्रमा निवेदन दिन सक्नेछन् ।

केन्द्रले आफ्नो क्षेत्रभित्रका रोजगारदाताका लागि आवश्यक श्रमिकको उपलब्धता र सूचीकृत बेरोजगार व्यक्तिका लागि रोजगारीका अवसरसम्बन्धी सूचना उपलब्ध गराउनु पर्नेछ ।

केन्द्रले सूचीकृत बेरोजगार व्यक्तिलाई ‘श्रमिक कार्ड’ समेत उपलब्ध गराउनेछ । त्यही कार्डका आधारमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र कानूनबमोजिम दर्ता भएका रोजगारमूलक संस्थामा रोजगारीको व्यवस्था गरिनेछ । श्रमिक कार्डबाहेक बेरोजगारले आफू बसोबास गरेको स्थानीय तह वा अन्य स्थानमा गएरसमेत काम गर्न पाउनेछन् ।

त्यस्तै सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार उपलब्ध गराउन नसकेमा निर्वाह भत्ता उपलब्ध गराइने व्यवस्था गरिएको छ । न्यूनतम रोजगार उपलब्ध गराउन नसके सरकारले तोकेको न्यूनतम पारिश्रमिकको १०० दिन बराबरको ५० प्रतिशत रकम निर्वाह भत्ताका रुपमा उपलब्ध गराउने छ ।

बेरोजगार व्यक्तिले एक आर्थिक वर्षमा १०० दिनभन्दा कम अवधि मात्रै रोजगारी पाएमा १०० दिन पुग्न बाँकी अवधिको मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत बराबरको रकम मात्र निर्वाह भत्ता उपलब्ध गराउनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.