निहारिकाको माग सम्बोधन हुन्छ : गृह

रिपोर्ट नेपाल | 2022 Aug 14 | 07:29 am 1105

काठमाडौँ, साउन २९ः राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी ‘कुमारी आमा’ निहारिका राजपूतका माग सम्बोधनका लागि सरकारले पहल गरेको छ। गत असार ४ गते सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले आमरण अनसनरत निहारिकासँग पाँच बुँदे सम्झौता गरेको थियो तर सरकारले आफूसँग गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै निहारिकाले शुक्रबार आत्मदाहको प्रयास गरेकी थिइन्।

पेट्रोल खन्याएर शरीरमा आगो लगाउने क्रममा निहारिकालाई प्रहरीले उद्धार गरी अस्पताल पु-याएको थियो। उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

सरकारका तर्फबाट भएका सहमति कार्यान्वयनका लागि गृह मन्त्रालयले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, अर्थ मन्त्रालयसँग समन्वय भइरहेको र केही दिनभित्र माग सम्बोधन हुने जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले राज्य र निहारिकाबीच भएको पाँच बुँदे सहमति कार्यान्वयनमा गृह मन्त्रालय प्रतिबद्ध रहेको बताए। उनले सहमतिका कतिपय विषय अन्य मन्त्रालयसँग समेत जोडिएको र समन्वयका क्रममा केही ढिला भएको स्वीकार गर्दै उनले भने ‘‘पाँच बुँदे सहमति कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ। केही दिनभित्रै सहमति कार्यान्वयन हुन्छ।’’ उनले राज्यका तर्फबाट भएका समहति कार्यान्वयन गरी पीडितलाई न्याय दिलाउन गृह मन्त्रालय प्रतिबद्ध रहेको बताए।

महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह ‘निहारिका’ले आफू १७ वर्षको नाबालिक हुँदै बलात्कृत भएकी दाबी गरेकी छन्। जनकपुरका शिवराज श्रेष्ठले निहारिकलाई नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप उनले लगाएकी छन्। बलात्कारबाट जन्मिएको बच्चासमेत २३ महिनाको पुगेको छ। उनले शिवराज र बच्चाको डीएनए परीक्षणको माग गर्दै आएकी छन्।

यसै क्रममा उनी गत जेठ २७ गते काठमाडौँको वसन्तपुरमा आमरण अनसनमा बसिन्। नाबालक बच्चा काखमा च्यापेर अनसनरत निहारिकाको स्वास्थ्य अवस्था जटिल बनेपछि गृहमन्त्री बालकृष्ण खाणले गत असार ४ मा पाँच बुँदे सहमति गरी  निहारिकको अनसन अन्त्य गराएका थिए।

बलात्कारबाट जन्मेको बच्चाको र आरोपीबीच डीएनए परीक्षण गरी पहिचान गर्ने, नाबालक बच्चाको सुरक्षा, आवास, आर्थिक सहायतालगायत पीडितमैत्री कानुन बनाउने सहमति भएको थियो।

तर सहमति कार्यान्वयनमा सरकार जिम्मेवार नभएको भन्दै साउन २० गतेदेखि उनले दोस्रो चरणको आमरण अनसन सुरु गरेकी थिइन्। अनसनकै क्रममा उनले राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास गरेकी हुन्।

आफूमाथि बलात्कार भएको र बच्चासमेत जन्मिएको प्रमाणसमेत रहेको अवस्थामा न्यायका लागि विभिन्न ठाउँमा भौँतारिनु परेको तथा पीडितलाई नै गलत बनाउने र दोषीलाई चोख्याउने गरी अनुसन्धान अघि बढाइएको आरोप उनले लगाउँदै आएकी छन्।

धनुषा जिल्ला अदालतले २०७८ माघ २४ गते अपराधीको पक्षमा फैसला गरी आफूलाई दोषी ठह-याएपछि जिल्ला अदालतको फैसलाउपर उनी उच्च अदालत जनकपुर पुगिन्। गत फागुन १२ गते दर्ता भएको मुद्दामा अहिलेसम्म पेसी तोकिएको छैन।

त्रिवि शिक्षण अस्पतामा उपचाररत निहारिकाको अवस्था बुझ्न काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह शनिबार अस्पताल पुगेका थिए। त्यस क्रममा निहारिकाले उठाएका माग उचित रहेको र माग ठूलो पनि नभएको प्रतिक्रिया दिँदै बालेनले बच्चाको डीएनए टेस्ट माग गर्दा एउटी आमाले जल्न तयार हुनुपर्ने अवस्था कानुनी राज्यमा सुहाउने विषय नभएको टिप्पणी गरेका छन्। गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.