काठमाडाैं, असोज ४ । सरकारले ल्याएको प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरिरहेका शिक्षकहरुको आन्दोलनले उग्ररुप लिएको छ ।
आन्दोलनरत शिक्षकहरुले बानेश्वरस्थित निषेधित क्षेत्र तोडे पछि शिक्षक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भएको छ। प्रहरीले निषेधित क्षेत्रमा राखेको बारहरु शिक्षकहरुले तोडेका छन्। अहिले बानेश्वर क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ।
नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय नै बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन्। सरकारले ल्याएको शिक्षा विधेयकको विरोध गर्दै राहत, करार, बालविकास, स्थायीलगायत शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन्।