काठमाडौं, साउन १६ । निर्माण व्यवसायीले आज तेस्राे दिन पनि बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि निर्माण उपकरण तेर्स्याएर विरोध प्रदर्शन गरेका छन् । आज विहान ९ बजे देखि १० बजेसम्म उनीहरूले डोजर लगायत निर्माण उपकरण सडकमा राखेर प्रदर्शन गरेका हुन् ।
त्यसक्रममा महासंघका अध्यक्ष रवि सिंहले बाेल्दै सरकारले माग पूरा गरी हामी निर्माण व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।
सरकारले भुक्तानीकाे व्यवस्थापन गर्न नसके स्रोत नभएका आयोजनाको म्याद थप गर्नु भन्दा त्यस्ता आयाेजना खारेज गर्नु पर्ने उनको भनाई थियो
निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक हामी निर्माण व्यवसायीहरूलाई चाँडै काममा फर्काउने वातावरण सरकारले गरोस् भनेर निषेधित क्षेत्रको मर्यादा राख्दै धर्ना गरेकाे पनि बताए ।
प्रधानमन्त्रीज्यूले ठोस कार्ययोजना बनाई हाम्रा माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहन्छ । सम्झौता गरेका माग कार्यान्वयन हुनुपर्छ । सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्छ ।” महासंघ अध्यक्ष सिंहकाे भनाई थियो ।
व्यवसायीले ‘व्यावहारिक माइल स्टेन खारेज गर’,‘जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर’, ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर,’ ‘उपभोक्ताबाट निर्माणकार्य गर्ने नियम खारेज गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।