धनगढी, मंसिर ९: न्याय माग्न अनसन बसेका निर्मला पन्तका बुवाको मानसिक अवस्था समस्याग्रस्त देखिएसँगै उनको गोजिमा विषादीको गोली भेटिएको छ ।
अनसनस्थलमा बस्दै आएका एकजना (नाम नखुलाउने सर्तमा)ले दिएको जानकारी अनुसार, निर्मला पन्तका बुवाको गोजीमा विषादीकारुपमा प्रयोग गरिने सल्फास नामक औषधीको गोली भेटिएको हो ।
सल्फासलाई किरा लाग्नबाट जोगाउन गहुँलगायतका अन्न भण्डारको बेला प्रयोग गरिन्छ । यो घातक विषादी हो । चिकित्सकको प्रेस्किप्सन बिना यो किन्न पाईंदैन । मानसिकरुपमा सन्तुलित नभएका उनले कहाँबाट सल्फास ल्याए भन्ने कुरा खुल्न सकेको छैन ।
‘उनी आफै सल्फास किनेर ल्याउन सक्दैनन् ।’ श्रोतले भन्यो, ‘सल्फास जसले पायो त्यसले किन्न पनि सक्दैन। तर उनको गोजीमा भेटिएपछि यसले डरलाग्दो संकेत गरेको छ।’
रात्रीकालिन समयमा समेत अनसन सुरु भएपछि उनले मानसिक सन्तुलन गुमाएका हुन्। निर्मला पन्तकी आमाका अनुसार राती अनसन बस्न थालेपछि उनी आफ्नै सुरमा बोल्ने, हिँडने गर्न थालेका छन् ।
यतिमात्रै होइन, उनी लुगा समेत फुकालेर हिँडने गरेका छन्। अनसनस्थलबाट निस्केर जथाभावी बोल्दै सडकमा हिँडन थालेपछि पन्तकी आमाले उनको उपचारका लागि अपील गरेकी हुन्।