कञ्चनपुर, भदौ २६ : कञ्चापुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले मुख्य अभियुक्तका रुपमा पक्राउ गरिएका दिलीपसिंह विष्ट अन्ततः निर्दोष सावित हुँदै रिहा भएका छन् । डीएनए टेष्ट नेगेटिभ आएपछि जिल्ला अदालत कञ्चनपुरले विष्टलाई जिल्ला अदालत कञ्चनपुरले मंगलबार साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
प्रहरीले विष्टलाई पन्त हत्याको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर, मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई अभियुक्त बनाएको भन्दै स्थानीयले विरोध गरेका थिए । घटनाको २४ दिनपछि प्रहरीले भदौ ४ गते विष्टलाइ मुख्य अभियुक्त भन्दै पक्राउ गरी सार्वजनिक गरेको थियो। २१ दिन थुनामा बसेपछि विष्ट साधारण तारेखमा रिहा भएका हुन्।
निर्मला पन्तको ‘भेजाइनल स्वाब’ (योनीभित्रको तरलवस्तु)मा रहेको बलात्कारीको डीएनए र दीलिपसिंह विष्टको डीएनए फरक भएको पाइएको थियाे।
विष्टसँगै अनुसन्धानका लागि पक्राउ परेका रोशनी र बबिता बम दिदीबहिनी पनि मंगलबार नै छुटेका छन् । जिल्ला अदालतले आँचललाई साधारण तारेखमा र बवितालाई ३० हजार धरौटीमा छाड्ने आदेश भएको कञ्चनपुरका एसपी कुवेरसिंह कडायतले जानकारी दिए ।
साउन १० गते रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । तर, लामो समयसम्म बम दिदीबहिनीलाई स्थानीय प्रहरीले अनुसन्धानको दायरामा ल्याएन ।
आन्दोलन चर्किएर प्रहरीको गोलीबाट एक बालकको मृत्यु भएपछि स्थानीय प्रशासन र प्रहरीको नेतृत्व परिर्वतन गरेपछि मात्र बम दिदीबहिनी पक्राउ परेका थिए ।