निर्मला पन्तको घटना आश्चर्यजनक छ, अपराधीले स्वीकार्छ तर डीएनए मिल्दैन : प्रधानमन्त्री

| 2019 Jan 01 | 05:40 pm 1789

काठमाडौं, पुस १७ : प्रधानमन्त्री केपी ओलीलाई निर्मला पन्तको बलात्कार र हत्या घटनाका दोषी पत्ता लगाउने विषयमा सरकार गम्भीर रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले निर्मलाको बलात्कार र हत्याका दोषीहरुको खोजी भइरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटना आश्चर्यजनक भएको  समेत बताए ।  बलात्कारपछिका हत्याका अरु घटनामा दोषी पत्ता लागे पनि यसमा कठिन भएको बताए। ओलीले भने, ‘ अहिलेसम्म केही आश्चर्यजनक कुराहरु भएको छ । केही मानिसहरु अपराध आफूले यसरी गरेको हो भनेर बयान दिन्छन्, तर डीएनए मिल्दैन, अपराधीले स्वीकार्छ, कवुल गर्छ, डीएनए मिल्दैन ।’

उच्चस्तरीय छानबिन समिति गठन गरेर अनसुन्धान भइरहेको उल्लेख गर्दै उनले भने, ‘नेपाल प्रहरीले यस्ता घटना अनुसन्धान गरेर अपराधी पत्ता लगाउन सक्छ। अपराधी पत्ता लगाउन मैले पटक-पटक निर्देशन पनि दिएको छु।’

नेपाल प्रहरी आम रुपमा अपराध अनुसन्धानमा सक्षम भए पनि निर्मला पन्तको घटनामा भने अपराधी पत्ता नलाग्नु दुखद भएको उनको भनाइ छ ।‘नेपाल प्रहरी आम रुपमा अपराध अनुसन्धान गर्न, अपराधी पत्ता लगाउन, कारबाही गर्न सक्षम छ । ९५ प्रतिशतभन्दा बढी अपराध पत्ता लागेका छन्’ प्रधानमन्त्रीले भने, ‘यस बीचमा भएका यसै प्रकारका घटनामा आम रुपमा पत्ता लागेका छन् । बलात्कारका घटना, बलात्कारपछिका घटनाहरु प्रहरीले पत्ता लगाएको छ । तर दुखलाग्दो कुरा आश्चर्यजनक कुरा निर्मला पन्तको यथार्थ अन्तिम रुपमा टुंगो लाग्न सकेको छैन । यो दुखद पक्ष हो ।’

कार्यक्रममा बोल्दै ओलीले मुलुकका बालबालिकाको चेहरामा खुसी देख्दा आफू  खुसी हुने बताए।  ‘एउटा विद्यालयका शिक्षकले दिएको होमवर्क, अर्को घरमै सिर्जना हुने होमवर्क जस्तै घाँस र दाउरा काट्ने र गाई बाख्राको हेरचाह आदि’, प्रधानमन्त्री ओलीले भने, ‘दुवै होमवर्क कुशलतापूर्वक गर्थें।’

‘बालबालिकाको मुहारमाा मुस्कान हुनुपर्दछ। मानिस भोकबाट मुक्त हुनुपर्दछ।  कठ्यांग्रिएर मर्ने अवस्था आउनु हुदैन। समाज समतामुलक हुनुपर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस्तो अवस्थामा सबै नेपालीसँगै म पनि खुसी हुन्छु।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.