निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग फेरि प्रदर्शन

| 2018 Oct 29 | 03:55 pm 4333

कञ्चनपुर,  कार्तिक १२ : बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सोमबार महेन्द्रनगरमा र्‍याली सहित प्रदर्शन गरिएको छ । महिला अधिकारकर्मी र पीडित परिवारले चाँडो अपराधी पत्ता लगाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

महेन्द्रनगरको मदनचोकबाट निकालिएको र्‍याली बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय पुगेको थियो । महिला अधिकारकर्मी र पीडित परिवारले निर्मलाका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै प्रमुख जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

हत्या भएको तीन महिना भन्दा बढी भइसक्दा पनि अपराधी पत्ता लाग्न नसक्दा प्रहरी प्रशासनप्रति जनविश्वास गुम्दै गएको भन्दै चाँडो भन्दा चाँडो अपराधी पत्ता लगाउनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ । तत्कालीन प्रहरी प्रमुख एसपी दील्लीराज विष्ट र वडा प्रहरी कार्यालयका तत्कालिन इन्चार्ज जगदीश भट्टलाई बर्खास्त गरिएपनि उनीहरुमाथि कानुनी कारबाही चलाइनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

निर्मलाका हत्यारा पत्ता नलागेसम्म दबाबमूलक जुलुश, प्रदर्शन र ज्ञापन पत्र बुझाउने लगायतका कार्यक्रम जारी रहने नागरिक संघर्ष समितिकि संयोजक मिना भण्डारीले बताइन् । र्‍यालीमा निर्मलाका आमा, बुवा र भाइबहिनी पनि सहभागी थिए । उनीहरुले नै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.