निर्मला पन्त हत्य प्रकरण : ४२ दिन पुग्दा पनि दोषी पत्ता लागेन , प्रहरी भन्छ- ‘अनुसन्धान जारी छ’

| 2018 Sep 05 | 06:58 pm 2392

कञ्चनपुर, भदौ २० : १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्य भएको ४२ दिन पुगेको छ । तर पनि हत्यारा को हुन ? भनेर अझै पत्ता लागेको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको पनि झण्डै एक महिना बितिसक्यो तर हत्यारा पत्ता लागेको छैन् ।

यति धेरै दिन वितिसक्दा पनि प्रहरीले पत्ता लगाउन नसकेपछि पीडित परिवार र स्थानीयमा विभिन्न आशंका गर्ने थालेको छ । यही घटनाको अनुसन्धानको माग गर्दै चर्केको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्युसमेत भएको थियो । तत्पश्चात् प्रहरीले पुन: प्रारम्भिक चरणबाट अनुसन्धान सुरु गरेको बताए पनि हालसम्म वास्तविक दोषी पत्ता लाग्न नसक्दा पीडित परिवार र स्थानीयमा अनेक शंकाहरु उब्जिएका छन् ।

यो घट्नाको अनुसन्धानलाई सबैले निकै चासोको साथ लिएका छन् । निर्मलाकी आमा दुर्गादेवीकी अनुसार प्रहरीले घटनाको अनुसन्धान गरिरहेकै छ । उनले भनिन्, ‘फेरी पनि पहिले सार्वजनिक गरिएकालाई नै दोषी देखाउने खेल भइरहेको छ कि?’ उनले अहिले पनि प्रहरीले अनुसन्धानमा खासै प्रगति नभएको भनिरहेकाले शंका बढेको बताइन् ।

प्रहरी भन्छ अनुसन्धान जारी छ

निर्मलाको हत्य भएको झण्डै एक महिना वितिसक्दा पनि हत्यारा को हुन् भन्ने पत्तो लागेको छैन । तर जिल्ला प्रहरी कार्यालयले अनुसान्धन जारी रहेको बताएका छन् । तर पनि प्रगति भने खासै हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतले अनुसन्धान चलिरहेपनि प्रगति हुन नसकेको बताए । ‘हामी अनुसन्धानमै छौं, तत्काल केहि भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘विगतका भन्दा अनुसन्धान पनि अलि सहज बन्दै गएको छ ।’

उनले भदौ ७ र ८ को घटनापछि अनुसन्धान गर्न केहि असहज भएपनि अवस्था सामान्य बन्दै गएको बताए । ‘अहिले पनि सुचना पाउन निकै समस्या भईरहेको छ,’ एसपी कडायतले भने, ‘घट्नास्थल, पीडित वा बम परिवारको घरमा जांँदा भीड मात्रै पछि लाग्छ ।’ उनले स्थानीयले शंका गरेका बम दिदी बहिनी रोशनी र बबिताको बयान लिने काम सकिएको बताए ।

स्थानीयको दबाबपछि भदौ ७ मा उनीहरुलाई पक्राउ गरी पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । यसअघि प्रहरीले सार्वजनिक गरेका भीमदत्त नगरपालिका १९ बागफाँटाका दिलिप विष्टलाई स्वास्थ्य परीक्षणका लागि काठमाण्डौ लगिएको छ । उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको एसपी कडायतले बताए ।

प्रारम्भिक अनुसन्धानमा संलग्नता नदेखिएपनि उनीहरुलाई निगरानीमा भने राखिएको उनले जानकारी दिए । उनीहरु दुवैजना अहिले महेन्द्रनगरमै रहेको एसपी कडायतले बताए ।

घटनाकै अनुसन्धानका लागि एसएसपी ठाकुर प्रसाद ज्ञवालीको नेतृत्वमा दोस्रो पटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली आएको छ । यसअघि निर्मलाको शव भेटिएको दोस्रो दिन साउन १२ मा डिएसपी अंगुर जिसीको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली यहाँ आएको थियो । ‘अहिले आएको हाम्रो सहयोगका लागि हो,’ एसपी कडायतले भने, ‘उक्त टीम पनि अनुसन्धानमै खटिएको छ ।’

भदौ ४ मा प्रहरीले मुख्य अभियुक्तकारुपमा भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दिलिप विष्टलाई सार्वजनिक गएपछि स्थानीयले आक्रोशित भई आन्दोलन चर्काएका थिए । सिआइबीको अनुसन्धान पनि शंकास्पद भएपछि उक्त टोली फिर्ता भएको हो । मानसिक अवस्था ठिक नभएका ब्यक्तिलाई प्रहरीले सार्वजनिक गरेपछि एक सातासम्म महेन्द्रनगर तनावग्रस्त हुन पुग्यो । प्रहरीले गोली चलाउदा एक जना बालकको मृत्यु समेत भएकाे थियाे  ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.