निजामती क्षेत्रमा नीतिगत र संरचनागत समस्या छ : नवनियुक्त त्रिपाठी

रिपोर्ट नेपाल | 2019 Nov 21 | 04:52 pm 1302

काठमाडौं, मंसिर ५ : नवनियुक्त सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले निजामती क्षेत्रमा नीतिगत र संरचनागत समस्या रहेकाले त्यसलाई हल गर्दै कर्मचारी प्रशासनलाई चलायमान बनाउने बताएका छन् ।

आफ्नो मन्त्रालयमा आज कार्यभार सम्हाल्दै मन्त्री त्रिपाठीले कर्मचारी समायोजनमा मनोवैज्ञानिक समस्या रहेको बताए । मन्त्री त्रिपाठीले भने, “निजामती ऐन विचाराधीन छ, त्यो टुङ्गिएपछि धेरै कुरालाई निर्धारण गर्छ, विशेष गरी तीन तहको सरकारको बीचको अन्तरसम्बन्धका केही विषय जोडिएको छ, केही कानूनी झमेला छ र केही कानून संशोधन गर्नुपर्ने छ, सबैलाई तारतम्य मिलाएर अगाडि बढ्नुपर्छ ।”

सहमतिमा विश्वास गर्ने भएकाले आफूले अन्य राजनीतिक दलसँग पनि छलफल गरेर उचित निर्णय लिने मन्त्री त्रिपाठीले बताए । उनले एउटै सरकारको निरन्तरता भएकाले मन्त्री परिवर्तन भएर केही फरक नपर्ने विचार व्यक्त गर्दै विगतदेखि सांसदको हैसियतमा पनि मन्त्रालयका गतिविधि नियालिरहेको बताए ।

आर्थिक अनुशासनसँग जोडिएको महत्वपूर्ण पक्ष स्थानीय तहका महालेखाको प्रतिवेदन कसरी निकाल्ने भन्ने व्यवधान रहेको उनको भनाइ थियो । स्थानीय सरकारमा जनप्रतिनिधि नयाँ भएका र कार्यालय सञ्चालनमा पनि अनुभव कम भएका कर्मचारी रहेकाले केही समस्या देखिएको जिकिर गर्दै उनले जबरर्जस्ती गएका आधा मनले काम गर्ने अवस्था रहँदा अनुशासन अनुकूल काम नभएको बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.