निगमको वाइडबडी जहाजको परीक्षण उडान आज

| 2018 Jul 24 | 06:36 am 2077

काठमाडौं, साउन ८: नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले मंगलबार परीक्षण उडान गरेको छ।

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले आज अपराह्न उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरेको जानकारी दिए। सो उडानलाई निगमले ‘पुफिङ फ्लाइट’ को नाम दिएको छ।

गत असार २४ गते काठमाडौँ आइपुगेको ‘अन्‍नपूर्ण’ नाम दिइएको सो जहाजलाई विदेशी चालक फ्रान्सिको र निगमका चालक श्रवण रिजालले उडाउनु भएको प्रवक्ता श्रेष्ठले बताए।

निगमले वाइडबडी ए ३३०-२२० सिरिजको जहाजमार्फत अन्तर्राष्ट्रिय उडानमा आफ्नो हिस्सा बढाउने लक्ष्य राखेको छ। अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठनको छाता संगठन (आइकाओ) ले व्यावसायिक उडान अघि परीक्षण उडान गर्नुपर्ने व्यवस्था गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिशमा नै निगमको बाइडबडी जहाजले आज त्यस्तो उडान गरेको हो। निगमले उडानका लागि सबै प्रक्रिया पूरा गरेको छ । उक्त उडानमा निगमका प्राविधिक तथा अधिकारी सहभागी थिए।

परीक्षण उडानमा कुनै यात्रु भने बोकिएको थिएन। परीक्षण उडान सफल भएपछि मात्रै व्यावसायिक उडान गर्ने गरी तालिका तय गरिने निगमले जनाएको छ। निगमले यही साउन १६ गते पहिलो व्यावसायिक उडान गर्नेछ। प्र्रवक्ता श्रेष्ठले दुबईबाटै पहिलो व्यावसायिक उडान गर्ने गरी तयारी गरिएको जानकारी दिए।

जहाज आएको एक महिनाभित्र सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गरिएको हो। यस्तै निगमको दोस्रो वाइडबडी जहाज यही साउन ११ गते काठमाडौँ आइपुग्दै छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.