नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासियो

रिपोर्ट नेपाल | 2020 Jul 14 | 10:49 am 2529

चितवन, असार ३०ः नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप भासिएपछि सवारी एकतर्फी मात्र संचालन भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार यसअघि सो ठाउँमा थप भासिएपछि खतरा बढेकाले सवारी सञ्चालन रोकिएको हो । उनले सोमबार बिहान यसअघि भासिएको ठाउँमा थप भासिएपछि ग्राबेल हालेर सवारी सञ्चालनमा ल्याइएको जानकारी दिए। भासिने क्रम थपिएपछि सडकमा ड्रम राखेर एकतर्फी बनाइएको उनले जानकारी दिए ।

सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै भासिएको थियो । अधिकारीका अनुसार १७ किलोमा तीनदेखि तीन दशमलव पाँच मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटभन्दा बढी सडक भासिएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ । त्यसै ठाउँमा विसं २०६० मा सडकमुनिबाट एङ्कर पर्खाल दिएर निर्माण गरिएको थियो । त्यसैमा समस्या आएको जनाइएको छ ।

सो क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर पर्खालले काम गर्न छाडेको हो । दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो । सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा छ दशमलव पाँच मिटर फराकिलो सडक ७० मिटर लामो भाग भासिएको छ । ती दुवै ठाउँमा मर्मतका लागि बोलपत्र आह्वान गरिएको भए पनि बोलपत्र नपरेको सडक विभागले जनाएको छ ।

अधिकारीले भासिएको ठाउँ बढ्दै गएमा थप जोखिम हुने बताए । भित्तापट्टि अग्लो पहाड भएकाले विस्तार गर्न कठिन छ । अविरल वर्षा भइरहेकाले सो सडकको ठाउँठाउँमा पहिरो खस्ने र पन्छाउने काम जारी नै रहेको उले जानकारी दिए । यो सडक राजधानी भित्रने र बाहिरिने प्रमुख मार्ग हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.