नाराबाजी र प्रदर्शनले कांग्रेस बैठक स्थगित, पार्टी कार्यालयमै गुटका भेला

| 2018 Nov 17 | 07:11 pm 1866

काठमाडौं, मं‌सिर १ : लामो समयपछि आज बस्‍ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुअघि नै पार्टी कार्यालय अगाडी नाराबाजी र प्रदर्शन गरिएपछि बैठक स्थगित भएको छ।

बैठक फेरि आइतबार २ बजेका लागि बोलाइएको छ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति महाधिवेशन नगरी विघटन नगर्न माग गर्दै पार्टी कार्यालय अघि नाराबाजी र प्रदर्शन गरिएको थियो।

दिउँसो नाराबाजी र होहल्लाले तनावपूर्ण रहेको सानेपास्थित कांग्रेस कार्यलयमा अपरान्हदेखि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाको गुटगत बैठक चलिरहेको छ। पौडेल र सिटौला दुवै पक्ष गुटगत छलफलमा व्यस्त भएपछि संस्थापन पक्षले बैठक सुरु गर्न सकेको छैन।

नेविसंघको महाधिवेशन र म्याद थपबारे छलफल गर्न टुंगो लगाउने एजेन्डासहित कांग्रेस बैठक डाकिएको थियो।

पौडेल पक्षले नेविसंघको महाधिवेशनका लागि अहिलेको समितिलाई भंग गरेर योग्य व्यक्तिको नेतृत्वमा नयाँ तदर्थ समिति गठन गर्नुपर्ने माग गरेका छ। त्यस्तै सिटौला पक्षले वर्तमान समितिलाई नै केही समय दिएर महाधिवेशनको मिति तोक्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

सभापति देउवा तथा संस्थापन पक्षले छ महिना म्याद थप्नुपर्ने प्रस्ताव राखेको छ। नेविसंघमा भर्खरै कांग्रेसको उपसभापति बनेका विजयकुमार गच्छदार समूहलाई पनि नेविसंघमा समयोजन गर्नुपर्ने, कांग्रेसको महासमिति बैठकको तयारीमा जुट्नुपर्ने, फागुनमा हुने स्ववियू निर्वाचनको तयारी लगायतका कारण तत्काल नेविसंघको महाधिवेशन गर्न नसकिने तर्क संस्थापन पक्षको छ ।

पटकपटक सर्दै आएको कांग्रेस बैठक शनिबार पनि अवरुद्ध भएपछि नेविसंघको आगामी महाधिवेशन थप अन्योलमा परेको छ।

गत भदौको पहिलो हप्ता म्याद सकिएको संघको वर्तमान कार्यसमितिको कार्यकाल तीन महिना थप गरिएको थियो । थपिएको कार्यकाल आगामी मंसिर पहिलो हप्ता सकिँदैछ । संघको विधानअनुसार अब म्याद थप्न मिल्दैन। तर विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतन्त्रिक कांग्रेसमा विलय भएपछिको अवस्थालाई आधार मानेर र विशेष राजनीतिक निर्णय गरी म्याद थप्‍न सकिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.