नागढुङ्गामा गरियो सवारीसाधनको प्रदूषण परीक्षण

रिपोर्ट नेपाल | 2019 Jan 18 | 02:21 pm 1969

काठमाडौँ, माघ ४ : मुलुकको विभिन्न जिल्लाबाट उपत्यका भित्रिने सवारीसाधनको अवस्था पत्ता लगाउन आज शुक्रबार काठमाडौँको नागढुङ्गामा प्रहरी र यातायात व्यवस्था विभागको टोलीले गाडीको प्रदूषण परीक्षण गरेको छ ।

भित्रिएका बस, ट्रक, माइक्रो र टिपरसहित ४७ वटा सवारीसाधन जाँच गर्दा १५ वटा गाडी प्रदूषण फेल भएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार प्रदूषण फेल भएका सवारी चालकलाई कारवाही गरिएको जानकारी दिएका छन् । सवारी साधनको अवस्था ठीक हुनका लागि पेट्रोलबाट सञ्चालित सवारीमा तीन प्रतिशतभन्दा कम कार्बन मोनोअक्साइड र हाइड्रोकार्बन एक हजार पिपिएमएचसीभन्दा कम हुनुपर्छ ।

डिजेलबाट चल्ने गाडीको धुवाँको घनत्व ६५ प्रतिशतभन्दा कम एचएसयु हुनुपर्ने मापदण्ड रहेको विभागको सवारी परीक्षण कार्यालयले जनाएको छ ।

मापदण्डविपरीत प्रदूषण फेल हुने सवारीसाधनलाई ५०० देखि एक हजार ५०० सम्म जरिवाना हुने व्यवस्था रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरी र सरोकारवाला निकायको संयुक्त टोलीले चालकको स्वास्थ्य अवस्थासमेत जाँच गरेको छ । जाँचमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरी अस्पतालका चिकित्सक र यातायात व्यवस्था विभागको प्रदूषण परीक्षण प्राविधिकको सहभागिता थियो । उक्त टोलीले सवारी चालकको आँखाको समेत परीक्षण गरेको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.