नवरात्रको तेस्रोदिन, आज दुर्गा चन्द्रघण्टाको पूजा गरिँदै

| 2020 Oct 19 | 07:51 am 3858

  • बसन्त भुजेल

काठमाडौं, कात्तिक आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

चन्द्रघण्टा माता दुर्गाको तेस्रो शक्ति स्वरुप हुन् । नवरात्रको तेस्रो दिन सोमबारबार माता चन्द्रघण्टा देवीको पूजाआजा गरी मनाईँदैछ ।
यस दिन पनि पहिलो दिनजस्तै नित्य पूजा गरेर विशेष रूपमा चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ । उनलाई खुसी पारी कार्यसिद्ध गर्न ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघण्टायै नमः’ मन्त्र १०८ पटक जप्नुपर्ने मान्यता रहेको छ ।
यस दिन चार वर्षकी कन्यालाई ‘कल्याणी’ देवीको रूपमा पूजा गरिन्छ भने विशेष रूपमा चन्द्रघण्टालाई ऐना, सिन्दुर, गाजललगायत सामग्री चढाइन्छ ।

शास्त्रमा भनिएको छ –
पिण्डजप्रवरारूढ़ा चण्डकोपास्त्रकेर्युता ।
प्रसादं तनुते मह्यं चंद्रघण्टेति विश्रुता ।।
अर्थात माता दुर्गाको तेस्रो स्वरूपको नाम हो चन्द्रघण्टा । चन्द्रघण्टा मातालाई दुर्गा भवानी माताको रुपमा उनलाई तेस्रो दिनमा पूजाआजा र आराधना गर्ने गरिन्छ । उनको शिरमा घण्टीको आकार जस्तै अर्धचन्द्र भएकाले उनको नाम चन्द्रघण्टा रहन गएको शास्त्रीय मान्यता छ । यिनको आराधनाले सांसारिक कष्ट देखि छुटकारा पाई सहज रुपमा परमपदको आधिकारिक बन्दछ भन्ने मान्यता छ ।

चन्द्रघण्टा देवीको स्वरूप शान्तिदायक कल्याणकारी भएको मानिन्छ । यी देवीको १० वटा हात र १० हातमा खड्ग, वाण आदि शस्त्र, अस्त्र हुने विश्वास गरिन्छ । उनको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र छ, यही कारणले गर्दा यिनीलाई चन्द्रघण्टादेवी भनेर चिनिएको हो । उनलाई सुनजस्तो पहेंलो शरीर र दसवटा हात भएकी देवी भनेर देवीभागवतमा उल्लेख छ । हातमा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुबाण, कमल पुष्प, अक्षमाला धारण गरी वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ मानिएको छ । उनको घन्टको ध्वनिले भूतप्रेत भाग्ने र आसुरीभाव भएका शत्रुहरू परास्त होऊन् भन्ने कामनाले उनको पूजा गर्नुपर्ने धार्मिक विश्वास रहेको पाणिनि संस्कृत विद्यालय, विराटनगरका पं. राजेन्द्र आचार्य बताउँछन् । चन्द्रघण्टाको उपासना गर्नाले सिंह या बाघको जस्तै पराक्रम तथा निडर हुनुका साथै सद्गुण, वीरता तथा विनम्रताको विकास भई शरीरमा कान्ति र गुणको वृद्धि हुने बताइएको छ ।

चन्द्रघण्टाको आराधना गर्नाले सबै प्रकारका दुःख, कष्ट नाश हुने र सबै प्रकारका बाधाव्यवधान हट्ने जनविश्वास छ । उनलाई सबै प्रकारका फलफूल, पकवान एवं पुष्पहरू प्रिय छन् । चन्द्रघण्टालाई विशेषगरी दूधका परिकार चढाइन्छ । उनलाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ । चन्द्रघण्टा देवीको पूजासँगै यस दिन पनि विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन रहेको छ । विशेष गरी नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्धकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी, पाथीभरा, मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.