नरभक्षी चितुवालाई गोली हानी मारियो

| 2022 Dec 06 | 02:24 pm 1057

तनहुँ, मङ्सिर २०ः तनहुँको बन्दीपुर गाउँपालिका–२ पार्नेमा नरभक्षी चितुवालाई गोली हानी मारिएको छ । प्रहरी नायब निरीक्षक रामशरण रानाको  कमाण्डमा खटिएको टोलीले गोली हानी चितुवा मारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

करिब ५० किलो तौल भएको चितुवामाथि दुई राउण्ड गोली प्रहार गरी मारिएको उनले जानकारी दिए । सोमबार साँझ मारिएको चितुवालाई डिभिजन वन कार्यालय तनहुँमा बुझाइएको छ ।

निरन्तर रूपमा तनहुँमा आतङ्क मच्चाइरहेको नरभक्षी चितुवा मार्न कात्तिक १६ गते जिल्ला प्रशासन कार्यालयले आदेश दिएको थियो । प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम नरभंक्षी चितुवा मार्न सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई आदेश दिएपछि चितुवाको खोजी गरिएको थियो ।

व्यास नगरपालिका, बन्दिपुर गाउँपालिकाका साथै स्थानीय व्यक्तिहरूले नरभक्षी चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुनथालेपछि उक्त चितुवा मार्नुपर्ने भनी प्रतिवेदन उपलब्ध गराएपछि स्थानीय प्रशासनले सो चितुवा मार्न निर्देशन दिएको हो ।

चितुवाले कात्तिक ४ गते बन्दिपुर गाउँपालिका–३ की ११ वर्षीया बालिका, कात्तिक १५ गते व्यास नगरपालिका–१२ छिर्कनेका ८ वर्षीय बालकलाई आक्रमण गर्दा मृत्यु भएको थियो । तनहुँले बन्दिपुर गाउँपालिकाको वडा नं. १, ३, ४ र ५ मा तथा व्यास नगरपालिकाको वडा नं. ११ र १२ मा गरी चितुवाको आक्रमणबाट आठ जना घाइते र पाँच जना बालबालिकाको मृत्यु भएकाले मार्ने आदेश दिइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

मानिस तथा घरेलु पशु चौपायामाथि बारम्बार आक्रमण हुने स्थिति विद्यमान भएकाले उक्त त्रासदीपूर्ण वातावरणको अन्त्य गरी स्थानीय बासिन्दालाई जीउज्यानको सुरक्षाको अनुभूति दिन आवश्यक देखिएको सन्दर्भमा नरभक्षी चितुवालाई मारी डिभिजन वन कार्यालय तनहुँमा बुझाई दिनुहुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम अनुरोध गरिएको थियो ।

विगत पाँच वर्षदेखि तनहुँमा वन्यजन्तु चितुवा र मानवबीच द्वन्द्व बढ्दै गएको छ । यो अबधिमा भानु नगरपालिका, आँवुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा गरी १४ जना बालबालिका चितुवाको आक्रमण परी ज्यान गुमाएका छन् भने दर्जन भन्दा बढी बालिबालिका घाइते छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.