नरबलि दिन भारत लगेका तीन बालिकासहित ६ आरोपित पक्राउ

| 2019 Dec 26 | 08:44 am 2035

काठमाडौं, पुस १०: नरबलि दिने आपराधिक उद्देश्यले तीन बालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ६ आरोपितलाई प्रहरीले विराटनगरबाट मंगलबार पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई बुधबार काठमाडौं ल्याएको छ।

पक्राउ पर्नेमा रञ्जिता चौधरी, उमेश साह, दिलकुमार बुढामगर, उमेशबहादुर माझी, दिलीप पोद्दार र कृष्ण तामाङ रहेका छन्। पक्राउ परेका व्यक्तिको प्रहरीले थप परिचय खुलाएको छैन।

‘मासिकश्राव नभएका र शरीरमा कुनै चोटपटक नलागेका तीन बालिकालाई भारत लान लागेको जानकारीका आधारमा हामीले पक्राउ गरेका हौं –प्रहरीले बताए।

अनौपचारिक रूपमा प्रहरीले जानकारी गराएअनुसार मासिक धर्म शुरू नभएका र शरीरमा कुनै खत नभएका बालिकालाई बलि दिने प्रयोजनले लगिएको हुन सक्छ।

भारतमा यसअघि पनि यस्ता बालिकाहरुलाई बलि दिने प्रयोजनले लाने गरेको बुझिएकाले शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका व्यक्तिहरुले मोडलिङ पेसामा रहेकी श्वेता कार्कीलाई निसाना बनाएको जानकारी पनि प्रहरीले दिएको छ।

तर कार्कीलाई किन निसाना बनाएको र उनलाई निसाना बनाउँदा बालिकाहरुलाई किन भारत लैजानुपर्यो भन्ने सम्बन्धमा भने पक्राउ परेका व्यक्तिहरुले प्रस्ट जवाफ दिएका छैनन्’ –अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।

पक्राउ परेका व्यक्तिहरु अनुसन्धानकै क्रममा छन्, उनीहरुको प्रारम्भिक बयान अत्यन्त शंकास्पद छ, ती प्रहरी अधिकारीले भने– ‘हामीलाई खास किसिमका बालिकाहरु खोजिदिन भनेकाले मात्र हामीले यो काम गरेका हौं, उनीहरुलाई किन खोजिएको हो हामी भन्न सक्दैनौं।

यस विषयमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले घटनाको बारेमा आफूले अहिले केही जानकारी नदिने आज बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए।

केही गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेका छौं। उनीहरुले के अपराध गरेका थिए पत्रकार सम्मेलन गरेर सार्वजनिक गरौंला –एसएसपी सुवेदीले जानकारी दिए। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.