नयाँ सभामुख चयनका लागि नेकपाको आन्तरिक तयारी

रिपोर्ट नेपाल | 2019 Oct 18 | 01:48 pm 1555

काठमाण्डौं, कात्तिक १: नेपाल कम्युनिष्ट पार्टीले (नेकपाले) नयाँ सभामुख चयनका लागि आन्तरिक तयारी थालेको छ ।

संसद सचिवालयमै कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले राजीनामा दिनु परेको थियो । सभामुख पद रिक्त भएपछि अब कसलाई सभामुख बनाउने भन्ने बारेमा नेकपाले आन्तरिक तयारी थालेको हो ।

तत्कालीन समयमा सभामुख र उपसभामुख फरक दलबाट निर्वाचित भएका थिए । महरा तत्कालीन नेकपा माओवादी केन्द्रबाट र तुम्बाहाम्फे तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।

त्यसपछि एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि भने दुबै पदमा एकै दलका भएका थिए । सोही कारणले कांग्रेसले एकै दलबाट दुवै पदमा रहनु संविधानविपरीत हुने भन्दै विरोध गर्दै आएको थियो । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने व्यवस्था रहको छ।

महराको राजीनामापछि भने सभामुख र उपसभामुख अब फरक फरक दलको राख्नै पर्ने बाध्यता परेको छ । उपसभामुखमा तुम्बाहाम्फेलाई नै यथावतमा राख्ने हो भने सभामुख पद नेकपाले गुमाउनु पर्नेछ । तर नेकपाले तुम्बाहाम्फेलाई राजीनामा गराएर भए पनि सभामुख पद गुमाउन चाहेको छैन । त्यसैले तुम्बाहाम्फेलाई मन्त्री बनाउने र सभामुखमा आफ्नै दलको प्रतिनिधि चयन गर्ने गरी नेकपाले गृहकार्य गरिरहेको बुझिएको छ ।

नेकपाको सचिवालय बैठकमा पनि सभामुख आफ्नै पार्टीले राख्ने र उपसभामुख सत्ता सहयात्री दललाई दिन सक्ने विषयमा छलफल भएको नेकपा सचिवालय स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.