नयाँ मन्त्री बन्नका लागि नेताहरुकाे लविङ

रिपोर्ट नेपाल | 2019 Jul 28 | 07:58 am 2723

काठमाडौं, साउन १२:  सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लागेका हुन् ।

सरकारको कामलाई प्रभावकारी बनाउन र परिणाम देखाउने गरी काम गर्न मन्त्रीमण्डल फेर्नुपर्ने पार्टीभित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उनले पार्टीका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीका सचिवालयको एक सदस्यका अनुसार मन्त्रीमण्डल पुनर्गठन गर्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम लगायतका शीर्ष नेताहरुसँग परामर्श गरेका छन्। साथै उनले मन्त्रीमण्डल फेर्दा नयाँ मन्त्री हुने पात्रको बारेमा पनि परामर्श गरेका छन् ।

सरकार सञ्चालनलाई प्रभावकारी बनाउन पार्टीका शीर्ष नेताको सुझावलाई आत्मसाथ गर्दै प्रधानमन्त्री ओलीले पार्टीको विभाग र आयोगका प्रमुखहरुको जिम्मेवारीको टुंगो लागेलगत्तै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए ।

उनका अनुसार चारवटा मन्त्रीबाहेक अरु मन्त्रीलाई विदाई गरेर नयाँ मन्त्रीलाई ल्याउने प्रधानमन्त्रीको तयारी छ । गृह, रक्षा, उर्जा, परराष्ट्र र सञ्चारबाहेक अन्य मन्त्री हटाउने गृहकार्यमा प्रधानमन्त्री लागेका स्रोतको दावी छ ।

प्रधानमन्त्री मन्त्री मात्र होइन सचिवालयका विवादित सदस्यलाई हटाएर नयाँ पात्र ल्याउने कसरतमा लागेका छन्, स्रोतका अनुसार, दुई तिहाईको सरकारले परिणाम दिने गरी काम गर्ने मन्त्री ल्याउन प्रधानमन्त्री कटिवद्ध हुनुहुन्छ ।

भीम रावल, योगेश भट्टराई, महेश वस्नेत, जनार्दन शर्मा, देवेन्द्र पौडेल नयाँ मन्त्री हुनेहरुको पहिलो सूचिमा रहेका छन् । विगतमा गुटगत रुपमा मात्र मन्त्री बनाएको आलोचना खेप्नुभएका प्रधानमन्त्री ओलीले यसपटक सबै गुटबाट प्रतिनिधित्व हुने र काम गर्नसक्ने पात्र समावेश गर्ने गृहकार्य अगाडि बढाएका छन् ।

यसैगरी समाजवादी पार्टीको भागमा परेको शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईलाई परिवर्तन गर्नुपर्ने माग उठेको बताइएको छ । प्रधानमन्त्री ओलीले उक्त पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवसँग यसबारे छलफल गरिएकाे बताइएको छ ।

नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको कार्यविभाजन टुंगो लागेपछि मन्त्रीमण्डल पुनर्गठन हुने गरी गृहकार्य अगाडि बढिरहेको बताए । मन्त्रीमण्डल पुनर्गठनको विषयमा पार्टीभित्र छलफल अगाडि बढेको छ, प्रधानमन्त्रीले छिट्टी निर्णय लिनुहोला ।

मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी तीब्र बनेपछि प्रधानमन्त्री निवास वालुवाटार र अध्यक्ष प्रचण्ड निवास भैसीपाटीमा हाल भइरहेका मन्त्रीहरुको घुइँचो बढेको छ । नयाँ मन्त्री बन्नका लागि नेताहरुले लविङ अगाडि बढाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.