‘नयाँ बानेश्वर प्रहरीको चाडपर्वमा विशेष सर्तकता’

| 2018 Oct 06 | 08:06 pm 2969

काठमाडौं, असोज २० : चाडपर्वका समयमा विभिन्‍न अपराधिक गतिविधि बढ्नसक्ने भएकोले महानगरीय प्रहरी वृत नयाँ बानेश्‍वरले विशेष सर्तकता अपनाएको छ।

सुरक्षित नागरिक समाज र महानगरीय प्रहरी वृत नयाँ बानेश्‍वरको संयुक्त आयोजनामा शनिबार शुभकामना आदानप्रदान तथा चाडपर्वसम्बन्धी सुरक्षा जनचेतना कार्यक्रम गरी विशेष सर्तकता अपनाएको जानकारी दिएको हो।

कार्यक्रममा नयाँ बानेश्‍वर वृत प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले सुरक्षाको वर्तमान अवस्था, सुरक्षा तथा चुनौती र पछिल्लो कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै डिएसपी काफ्लेले नागरिकको सुरक्षा तथा शान्ति सुव्यवस्थाका लागि आफ्नो टिम सधैं प्रतिबद्ध रहेको बताए। उनले पछिल्लो समय अपराधिक कृयाकलापको नियन्त्रणमा नयाँ बानेश्‍वर वृत सफल भएकोसमेत दाबी गरे।

प्रहरीप्रति जनअपेक्षा धेरै भएकोले पनि प्रहरी कामकारबाहीमा थप सक्रिय हुनुपर्ने आवश्‍यकता डिएसपी काफ्लेले औंल्‍याए। उनले भने, ‘प्रहरीको कामकारबाहीमा जनमानसको अपेक्षा बढ्दै गएकोले कार्यक्षेत्रभन्दा बाहिरका गतिविधिमा पनि समय खर्चिनु परेको छ। यस्ता विषयमा पनि हामी शान्ति सुव्यवस्था कायम गर्न लागि परेका छौं।’

‘कसैले फोहोर फाल्दा पनि प्रहरी तथा होस्टेलका गतिविधिमा पनि प्रहरी खटिनुपरेको छ, उनले भने, यसले गर्दा प्रहरीलार्इ कार्यबोझ थपिएको छ।’

चाडपर्व लक्षित विशेष सुरक्षा योजनासमेत सार्वजनिक गरिसकेको दोहोर्‍याउँदै उनले भने, ‘चाडपर्वका समयमा सरकारी कार्यालयको सुरक्षा , विभिन्‍न क्षेत्रमा हुने आर्थिक अनियमितता, लुटपाट, चोरी-डकैती, यात्रुहरुलार्इ टिकटमा ठगीजस्ता अपराधिक कृयाकलाप हुनसक्छन्। यसका लागि हामीले सादा पोसाकमा प्रहरी खटाउने, विभिन्‍न रेस्क्यु तथा अपरेसन टिमहरु खटाउने काम गरेको बताए।

सुरक्षित नागरिक समाज र नयाँ बानेश्‍वर प्रहरी वृतको संयुक्त पहलमा बानेश्‍वरका २५ स्थानमा सिसिटिभि जोड्‍ने प्रकृयासमेत अघि बढेको उनले बताए। करिब ६५ लाख लगानीमा काम सम्पन्‍न हुने उक्त योजनाका लागि श्रोत जुटाउने काम भइरहेकोसमेत उनले जानकारी दिए।

कार्यक्रमका अवसरमा प्रश‌ंसनीय काम गर्ने नयाँ बानेश्‍वर वृतका चार जना प्रहरीलार्इ सम्मानका साथै पुरस्कार प्रदान गरिएको थियो। पुरस्कार पाउनेमा प्रहरी नायब निरीक्षक पुष्पराज थापा, प्रहरी हवल्दार गणेशबहादुर तामाङ, प्रहरी जवान गायत्री शाह र सुरेश थारु रहेका छन्।

कार्यक्रमको अध्यक्षता पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक तथा सुरक्षित नागरिक समाजका अध्यक्ष रमेश कुमार श्रेष्ठले गरेका थिए। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पूर्वमन्त्री तथा महान्यायाधिवक्ता अग्‍नीप्रसाद खरेल थिए भने विशिष्ट अतिथि प्रदेश ३ का सासंद गणेश दुलाल र दिपेन्द्र श्रेष्ठ, पूर्व न्यायाधीवक्ता सूर्य कोइराला, पूर्व गृहसचिव तथा लोक सेवा आयोगका सदस्य गोविन्द कुसुम रहेका थिए।

त्यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार पन्त, सिम्रिक एयरका सञ्‍चालक रामेश्‍वर थापालगायत विभिन्‍न संघस‌ंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, स्थानीय समाजसेवी तथा बुद्धिजिविहरुको सहभागिता रहेको थियो।

त्यसैगरी शान्ति सुरक्षालार्इ थप चुस्त बनाउन नयाँ बानेश्‍वर वृतले टोलटोलमा  प्रहरी अभियान २०७५ समेत सञ्‍चालन गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.