वीरगन्ज, मंसिर १५ः राजनीतिकर्मीको पाँचवर्षे बाली भित्रिइसक्दा मध्य तराईका किसानको बाली भने अझै बाँझै छ । असारमा मानो रोपेर मुरी उब्जाउन खेतमा रोपेको किसानको बाली उठाउने समयमै राजनीतिकर्मीको बाली उठाइदिनुपर्ने धपेडीले यो वर्ष मध्यतराईका किसानको बाली अझै भित्रिन सकेको छैन ।
समयमा घरमा बाली भित्र्याउन नपाउँदा सालभर गुजारा चलाउनुपर्ने धानबालीका बाला खेतका गहरामा नै झुरिइएर खसिरहेका छन् । ‘किसानको बाली भित्र्याउन पर्ने समय आफूहरूलाई एक गेंडो अन्न जति पनि सहयोग नगर्ने राजनीतिकर्मीको बाली पहिले उठाइदिन बाध्य भयौं,’ पर्सा जिराभवानी गाउँपालिकाका किसानमध्ये केहीले भने ।
किसानलाई भने अहिले झन् बाली भित्र्याउन चटारो थपिएको छ । ‘नेताका धपेडीमा सघाइदियौं, अब हाम्रो धपेडीमा सघाइदिने कोही छैन,’ किसान रामनरेश यादव गुनासो गर्छन् ।
‘नेताको जय जय भयो, हामी किसान सधैं उस्ताको उस्तै,’ खेतमै भेटिएका लालबहादुर महतोले गुनासो पोखे । पहिलेझैं अहिले कृषि कर्मका लागि श्रमिक पनि पाइ“दैन । सकीनसकी एक दुई जनाका भरमा खेती उठाउन बाध्य हुनुपरेको पर्सा जिराभवानी गाउँपालिका–२ सेढवाका किसान भागवतप्रसाद महतो भन्छन्, ‘तीन दिनदेखि कसरी बाली उठाइसक्ने भन्ने तनावले हैरान पारेको छ ।’
उता, सेढवाकै अर्का किसान जयनारायण महतोको समस्या पनि भागवतको जस्तै छ । खेतका गहरामा धान सुकेको छ । ‘आफैं मात्र जम्मा पार्न सकिन्न, श्रमिक भेटिँदैन,’ उनी भन्छन् ।
राज्यले मल बिउमा कुनै सहुलियत नदिए पनि सकिनसकी बाली लगाएर पनि समयमै उठाउन नसक्दा अहिलेको समय झन् तनाव थपिएको अर्का किसान अर्जुन चौधरी सुनाउँछन् ।
पर्साका कृषि कर्ममा लाग्ने यी किसान उदाहरणका मात्र हुन् । पर्सा नवका टोला, रामनगरी, विश्रामपुरलगायत किसान सेढवाका किसानकै जस्तो बताउँछन् । ‘राजनीतिमा लागेका नेताका लागि जनधन सबै लगाएर राज्य नै सरिक भई बाली उठाइदियौं,’ उनी भन्छन् ।
अरू र आफूलाई समेत अन्न उब्जाई जीवन धान्न बल दिने किसानको बाली उठाउने समय ‘राज्य बेखबर’ भएको किसानको गुनासो छ । कृषिकर्ममा लागेका किसानका लागि सहुलियत दरमा मल, बिउ र नयाँ प्रविधि प्रयोगको अवसर राज्यले नै नजुटाई परम्परागत कृषि कर्मभन्दा फरक ढंगले अघि बढ्न साथ दिँदा युवापिँढी पनि कृषिकर्ममा अडिन सक्ने उनीहरूको विश्वास छ ।
नयाँ प्रविधि प्रयोग र राज्यले उचित सहुलियत प्रदान गरी किसानलाई माथि उठाउने प्रयास गरे यो क्षेत्रमा पनि युवा आकर्षित हुन सक्ने किसानको सुझाव छ । यसपटक राजनीतिकतर्फ भरिलो दाना लागेको बाली उठाउने राजनीतिक दल र नेतातर्फ संकेत गर्दै पर्सा बाराका किसानले विगतझैं ‘किसानलाई नहेर्ने नीति बदल्नुपर्ने’ तर्क गरे ।
यता, हिरालाल यादवको खेतमा धानका बिटा बाँध्दै एक ठाउँमा जम्मा गरिरहेका श्रमिक बलराम रामले ५ केजी धानमा दिनभर खट्नुपर्ने बाध्यता टर्न नसकेको दुखेसो गरे । ‘पाँच÷सात वर्षदेखि यति ज्यालादारीमा खट्दै छौं । अरू काम नभएकाले मात्र यहाँ श्रम गरेर अन्न जोहो गर्न आएको हुँ,’ उनी भन्छन्, ‘राम्रो ज्याला नपाइने हुँदा किसानीकर्ममा मन लाग्न छोडेको हुँ । घरमा यतिकै बस्नुभन्दा थोरै भए पनि गरौं न भनेर मात्र आएका छौं ।’
स्थानीय विद्यालयका शिक्षक तथा पर्सा उदयपुर घुर्मीका किसान शम्भु यादवलगायत स्थानीय भने विगतझैं ‘अब राज्यले किसानलाई अन्देखा गर्न नहुने’मा जोड दिन्छन् ।
कृषिमा नयाँ प्रविधियुक्त सामग्री प्रयोग र कृषि उद्योग प्रवद्र्धन गर्न समग्र राजनीतकर्मी र राज्य नै लाग्नुपर्ने उनीहरूको सुझाव छ ।
‘सहरबजारमा बसेर खुब पैसा कमाउने व्यक्तिले पनि खाने आखिर अन्न नै हो । त्यसैले धर्तीबाट अन्न उब्जाउने कर्मलाई पहिलो प्राथमिकतमा राख्न राजनीतिर्मीसँगै देशका तीन प्रकारका सरकारले पनि अग्रसरता देखाउनुपर्छ,’ किसान यादवलगायतको माग छ । राजधानी दैनिकबाट