नगरपालिकाकै संरक्षणमा अवैध उत्खनन

रिपोर्ट नेपाल | 2021 Jun 30 | 07:52 am 1525

सिरहा, असार १६ः असार ८ गते राति साढे आठ बजे सिरहाको धनगढीमाई नगरपालिका–८, कसहाबाट प्रहरीले ग्राभेल लोड गरिएका १५ वटा टिपरलाई नियन्त्रणमा लिएर प्रहरी बिट कसहामा राख्यो। रातको समयमा अवैध रुपमा उत्खनन गरी गाभ्रेल ल्याएका ती टिपरलाई छुटाउन भोलिपल्ट धनगढीमाई नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत गोपालप्रसाद बगालेले इलाका प्रशासन कार्यालय, लहानलाई पत्र लेखे। प्रहरीले अवैध रुपमा निर्माण सामग्री उत्खनन गरेर ल्याएको भनेर नियन्त्रणमा लिएका टिपरलाई प्रशासकीय अधिकृत बगालेले वैध भनेर छुटाउन पत्राचार गर्नुले यस धन्दामा नगरपालिकाको संरक्षण पुष्टि गर्छ।

धनगढीमाई नगरपालिका–८ मामात्र नभई १३ नम्बर वडामा पनि नगरपालिकाकै संरक्षणमा एक्सकाभेटरबाट खानीका नाममा अवैध रूपमा उत्खनन भइरहेको छ। प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन भइरहँदा पनि नियमनकारी निकाय चुपचाप छ। बस्तीनजिक, बीच बस्ती, खोलाकिनार, हाइटेन्सन लाइनको समेत ख्याल नगरी एक्साभेटरबाट भइरहेको उत्खननले समस्या निम्त्याउने स्थानीय बताउँछन्।

यस क्षेत्रबाट हरेक दिन अवैध रुपमा ग्राभेल उत्खनन गरी करिब एक हजारभन्दा बढी टिपरमार्फत सिरहाका विभिन्न भाग, सप्तरी, सुनसरी र धनुषाको ढल्केवरसम्म पु¥याइन्छ। यस किसिमको दोहनले प्रदूषणसँगै प्राकृतिक प्रकोप र दुर्घटनासमेत बढाएको स्थानीय मनोज यादवले बताए। राजमार्गभन्दा उत्तरतर्फ प्राकृतिक खतरा बढाएर बस्ती नै विस्थापित हुनेगरी अनियन्त्रित दोहनले सीमिति व्यक्तिलाई फाइदा भए पनि आमजनता पिरोलिएको यादवको भनाइ छ।

अनियन्त्रित दोहनका कारण आँप र अन्य बालीनालीका लागि उर्बर मानिएको उत्तरी क्षेत्र खण्डहर बन्दै गएपछि स्थानीय चिन्तित बनेका छन्। जिल्लाभित्र विकास निर्माण कार्य अवरुद्ध हुन नदिन स्थानीय विकास मन्त्रालयको सचिवस्तरीय निर्णयबाट कार्यविधि बनाएर निजी खानी सञ्चालन अनुमति दिने प्रावधान बनाइयो। शून्य दशमलब २५ वर्गकिलोमिटर जग्गामा निजी खानी सञ्चालन अनुमति जिल्ला समन्वय समितिले दिन सक्ने कार्यविधिमा उल्लेख छ।

राजमार्ग, घनाबस्ती र वनबाट सय मिटरभन्दा पर र हाइटेन्सन लाइनबाट ५० मिटर दूरी राखेरमात्र अनुमति दिन मिल्ने कार्यविधिमा उल्लेख छ। १० फिटभन्दा गहिरो खाल्डो नहुनेगरी ग्राभेल खन्ने तथा ग्राभेल झिकिएको खाल्डोमा माटो भरेर पुनुपर्ने प्रावधान तोकिए पनि कार्यविधि, मापदण्ड, नियमको धज्जी उडाउँदै नगरपालिका, प्रशासन र खानी सञ्चालकको सेटिङमा गैरकानुनी रूपमा ग्राभेल उत्खनन भइरहेको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.