नख्खु कारागारमा २ सय ६० कैदीबन्दी मानसिक रोगी

रिपोर्ट नेपाल | 2021 Feb 05 | 11:58 am 1725

काठमाडाैं, माघ २३ः नख्खु कारागारमा २ सय ६० मानसिक रोगी कैदीबन्दी छन् । सामान्यदेखि जटिल मानसिक रोगका कैदीबन्दीलाई आवश्यक उपचार सेवा दिने गरेको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा हाल एक हजार ५ सय भन्दा बढी कैदीबन्दी छन् । तीमध्ये २ सय ६० जनामा मानसिक समस्या देखिएको कार्यालय प्रमुख मोहन अधिकारीले बताए । उनले भने, “हामीले यी समस्या भएका कैदीबन्दीको स्वास्थ्यलाई मध्यनजर गरी महिनाको तीनपटक कारागारमै उपचार सेवा उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ । जटिल मानसिक समस्या भएका कैदीबन्दीलाई मानसिक अस्पताल लगनखेलमा उपचार गराउँछौँ । कारागारका एक कैदीबन्दीलाई हाल लगनखेलको मानसिक अस्पतालमा उपचार गराइरहेका छौँ ।”

ती रोगका बिरामीको उपचारका लागि कारागारभित्र ‘मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल’ भवनको निर्माण सम्पन्न भइसकेको छ ।

तर आवश्यक चिकित्सक र सरसामनको व्यवस्था नहुँदा ती भवनबाट सेवा उपलब्ध गराउन नसकेको प्रमुख अधिकारीको भनाइ छ । “कारागार नजिकै मानसिक अस्पताल लगनखेल रहेको हुँदा विभिन्न जिल्लाका कारागारमा रहेका मानसिक रोगी कैदीबन्दीलाई कारागार व्यवस्थापन विभागले यहाँ सरुवा गरी पठाउँछ”, उनले भने, “सरकारी अस्पतालमा उपचार गर्न जाने जुनसुकै रोगका कैदीबन्दीले निःशुल्क उपचार पाउँछन् भने निजी अस्पतालमा उपचार गर्न इच्छा देखाउने कैदीबन्दीले आफ्नो खर्च आफैँ व्यहोर्नुपर्छ ।”

कारागारभित्रका बन्दी अस्पतालमा १५ शय्या रहने क्षमता भए पनि २० शय्या राखिने भएको उनको भनाइ छ । नेपालमा मानसिक रोग अध्ययन र उपचार गर्ने चिकित्सक सङ्ख्या कम रहेको हुँदा कारागारमा आवश्यक पर्ने १० औँ तहको चिकित्सकको व्यवस्था हुन सकेको छैन । सो कारागारमा कैदीबन्दी राख्न तीन ब्लक भवनको व्यवस्था गरिएको छ ।

त्यस्तै कारागारको बहिरङ्ग सेवामा दैनिक तीन चिकित्सकले लगभग ३० देखि ४० कैदीबन्दीलाई उपचार सेवा दिने गरेका बताइएको छ । नख्खु कारागारका एक हजार २ सय ९७ कैदीबन्दी, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई कोरोनाको खोप दिइएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.