नख्खु कारागारका कैदीको मन्द विषले यसरी लियो ज्यान

| 2018 Jul 24 | 08:07 pm 3061

काठमाडौं, साउन ८ : नख्खु कारागारका एक बन्दीको वैशाख २२ गते भएको रहस्यमय मृत्यको वास्तविक कुरा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले मंगलबार एक पत्रकार सम्मेलन गरी बाहिर ल्याएको छ ।

नख्खु कारागारमा कर्तव्य ज्यान र जवर्जस्ती करणी मुद्दामा बीस बर्ष कैद भुक्तान गरिरहेका भक्तबहादुर सुनारको स्वभाविक मृत्यु नभएर उनको हत्या भएको प्रहरीले पत्ता लगाएको छ ।

गएको वैशाख १९ गते ज्वरो आउने तथा वान्ता हुने भएपछि वीर अस्पतालमा उपचारका लागि लगिएका सुनारलाई एक्कासी ब्लडप्रेसर कम भएपछि आइसीयुमा राख्नुपर्ने भन्दै पाटन अस्पताल लगिएको थियो । पाटन अस्पतालमा उपचारका क्रममा सुनारको वैशाख २२ गते मृत्यु भएपछि उनको मृत्युको विषयलाई परिवारले सहज लिन सकेन।

सुनारको मृत्युको कारण त्यतिबेला नखुले पनि अनुसन्धानका क्रममा सुनारले कारागार सुधारको विषय उठाएर गृहमन्त्रीलाई सम्बोधन गरी पत्र लेखिएको पाइएपछि घटना रहस्यमय भन्दै छानबिन सुरु भएको थियो ।

मृतक

प्रारम्भिक छानबिन कारागार व्यवस्थापन विभाग आफैंले गरेपनि पछि यो छानबिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीलाई) दिइएको थियो । आफूले पाएको जिम्मेवारीलाई अत्यन्तै गम्भिरताकासाथ सिआइबीले आफ्नो अनुसन्धान सुरु गरेको थियो ।

सिआइबिका प्रमुख प्रहरी नायब महानिरीक्षक नारायण खड्काले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार भक्तबहादुर सुनारको मृत्यु स्वभाविक मृत्यु नभएर ‘प्लान्ड मर्डर’ भएको बताए । यसअघि पनि ३ जनाको हत्यामा संलग्न भई नख्खुमै जेल सजाय काटिरहेका अभिषेक सिंहको योजनामा सुनारको हत्या भएको अनुसन्धानबाट खुलेको डिआइजी खड्काले बताए।

सुनारको हत्या गरी आन्तरिक प्रशासन र चौकीदारलाई दोषी देखाउने र आफ्नो वर्चश्व कायम राखी चौकीदारको पद हत्याउने योजनामा उक्त हत्याकाण्ड रचिएको सिआइबीले दाबी गरेको छ ।

त्यस कार्यका लागि अभिषेक सिंहले बनस्पतिजन्य पदार्थबाट जेलभित्रै विष बनाएका थिए । तर त्यो विषले काम गर्छ कि गर्दैन भनेर थाहा पाउनका लागि पनि सिंहलाई त्यसको एक्सपेरिमेन्ट गर्नुपर्ने भएकाले सुनारमाथि एक्सपेरिमेण्ट गरिएको प्रहरीको निस्कर्ष छ । सिंहको एक्सपेरिमेन्ट सफल हुँदा सुनारको मृत्यु भएको सिआइबीले दाबी गरेको छ ।

सिरियल किलरका नामले वद्नाम अभिषेक सिंहले यसअघि पनि ३ जनाको हत्या गरिसकेका थिए । सिंहले योभन्दा पहिले भक्तपुर, सुर्खेत र जनकपुरमा गरी तीन जनाको हत्या गरेको सिआइबीको भनाइ रहेको छ । यस अघि पनि अभिषेकले अन्य हत्याका घटनामा पनि यस्तै किसिमको विष प्रयोग गरेको प्रहरीको अनुमान छ ।

सिंहलाई भक्तपुर जिल्ला अदालतबाट ३५ वर्ष तथा सुर्खेत र नेपालगन्ज जिल्ला अदालतबाट २०–२० वर्षको जेल सजाय सुनाएको थियो ।

सुनार हत्याकाण्डमा सिंहलाई बैंकिङ कसुरमा सजाय काटिरहेका मनोजकुमार चौरासिया तथा जेल सजाय भुक्तान गरी रिहा भएका ध्रुवकुमार शर्माले बाहिरबाट सामान पुर्याएर सहयोग गरेका थिए ।

सिंहलाई विष बनाउन आवश्यक पर्ने वनस्पति यसअघि चोरी मुद्दामा जेल सजाय काटि रिहा भएका ध्रुवकुमार शर्माले उपलब्ध गराएका थिए । उक्त वनस्पतिलाई खानामा मिसाई खुवाउने कार्यमा मनोजकुमार चौरासियाले साथ दिएको ब्यूरोले बताएको छ ।

प्रहरीको अनुसन्धानको क्रममा घटनाका अभियुक्त अभिषेक राज सिंह भारत तथा रुसमा आयुर्वेदिकसम्बन्धि ज्ञान लिएका व्यक्ति हुन् । उनलाई कुन वनस्पति औषधि हुन्छ र कुन वनस्पतिले विषको काम गर्छ जानकारी रहेको छ ।

त्यही ज्ञानको दुरुपयोग गर्दै उनले विष बनाएर त्यसको एक्सपेरिमेन्ट गरेको प्रहरीको निष्कर्ष छ । यस्तो विषको प्रयोग सामान्य पोष्टमार्टम रिपोर्टमा नदेखिने प्रहरीले बताएको छ । नेपालमा यस्तो चेकजाँच गर्ने प्रयोगशाला नभएका कारण रिपोर्ट सामान्य देखिने गरेको प्रहरीको भनाई रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.