पश्चिम नवलपरासी, असोज २९ । बर्दघाट बजारबाट प्रहरीले नक्कली नोटसहित हालै दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
बर्दघाट नगरपालिका ४ बर्दघाट बजारस्थित विनय होटल∕रेष्टुरेन्टको कोठा नं. ३ मा खानतलासी गर्दा नक्कली नोट बनाउन प्रयोग हुने सामाग्रीसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ब.स.पा.का सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय ब.स.पा.का प्रहरी निरीक्षक सुदर्शन पन्थीको कमान्डमा गएको प्रहरी टोलीले होटल खानतलासी गर्दा जिल्ला तनहुँ रिसिङ गाउँपालिका-३ दानश्री बस्ने वर्ष २५ को सुरज बिक र बुलिङ्टार गाउँपालिका-६ टिमुरे बस्ने वर्ष ३० को कृष्ण बहादुर बिकलाई चेकजाँच गर्दा नक्कली नोट बनाउन प्रयोग हुने सामाग्री बरामद भएको प्रहरीले बताएको छ।
बर्दघाट बजारमा नक्कली नोट बनाउने कार्यमा संलग्न केही व्यक्तिको चलखेल भएको संकेत प्रहरीले प्राप्त गरेपछि प्रहरीको गोप्य सुराकी र अनुसन्धानपश्चात् दुई अभियुक्तसहित नक्कली नोट छाप्न प्रयोग हुने सामाग्रीका साथ अभियुक्तहरु प्रहरीको नियन्त्रणमा आएका हुन् ।
नक्कली नोटको कारोबार गर्ने व्यक्ति र सामाग्री बरामद गरे पनि मुख्य नाइके अझैपनी नभेटिएकोमा खोजतलास र अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ। नक्कली नोट छाप्ने गिरोहका नाइके अन्य जिल्लामा भएको गोप्य जानकारीको आधारमा ती नाइकेलाई कानुनको दायरामा ल्याउन प्रहरी कृयाशिल रहेको बताइएको छ ।