धार्मिक दृष्टिमा भाइटीका

| 2018 Nov 09 | 05:39 am 1918

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड भाइटीका हो । तिहारको अन्तिम अर्थात पाँचौ दिन भाइटीका मनाइन्छ । कार्तिक शुक्ल द्धितिया तिथीमा भाइटीका मनाइन्छ । भाइटीकालाई यम द्धितिया पनि भनिन्छ । यस पर्वलाई विधि पूर्वक मनाउँदा मृत्यु समेत नाश हुन्छ भन्ने विश्वास छ । त्यसैले भाइटीकालाई मृत्युनाशक भन्ने पनि प्रचलन छ ।

भाइटीकाको विधि

स्कन्दपुराणमा भनिएको छ । यम द्वितीया तिथिमा बिहान सबेरै उठी ओछ्यानमै पूर्व फर्केर बसी मनमनै आफ्नो हितका कुराहरु सोच्नु । त्यसपछि उठेर शौच, दन्तधावन आदि काम गर्नु । अनि नुहाउनु । त्यसपछि सेतो वस्त्र र सेतो फूलको माला लगाई सेतै चन्दन निधारमा लगाउनु । नित्यकर्म सबै सकी डुम्रीको बोटमुनि जानु । त्यहाँ चार कुने चौकी बनाएर अष्टदल कमल बनाउनु । अनि त्यसमा ब्रह्मा, विष्णु, शिव र सरस्वतीको आवाहन,एवं पूजा गर्नु । अपमृत्यु नाश गर्न योग्य ब्राह्मणलाई बाच्छो सहितको गाई दान गर्नु । गाई दान नसकिए योग्य ब्राह्मणलाई एक जोर जुत्ता दान गर्नु । त्यसपछि घर फर्कनु ।

घरमा रहेका आफूभन्दा जेठा सबै परिवारका सदस्यलाई अभिवादन (ढोगभेट) गर्नु । अनेक थरी फलफूलले तिनलाई खुशी पार्नु ।

यसपछि आफ्नै आमाकी कोखबाट जन्मिएकी जेठी दिदीका घरमा जानु । उनलाई भक्तिपूर्वक नमस्कार गर्नु र भन्नु–“हे सौभाग्यवती दिदी हजूरको कल्याण होस् । म मेरो कल्याणका लागि तिम्रो चरणमा नमस्कार गर्न आइ पुगें ।”
त्यसपछि सम्पूर्णरुपमा श्रद्धाभक्तिपूर्वक दिदीलाई पुनः नमस्कार गर्नु ।
अनि दिदीले भाईलाई भन्नु–“भाई तिमी आउनाले म आज धन्य भएकी छु । म आज मंगलमयी भएकी छु । हे कुलका दीपक आज आयुवृद्धिका लागि तिमीले मेरो घरमा खाना खानु पर्दछ । हे मेरा सहोदर भाइ । पौराणिक कालमा यही कार्तिक शुक्ल द्वितीयाका दिन यमुनाले आफ्ना भाई यमराजलाई आफ्नो घरमा सत्कारपूर्वक खाना खुवाएकी थिइन् । यस दिन कर्मपाशमा बाँधिएका नारकीय पापीहरुलाई पनि स्वेच्छाले घुम्न सकुन् भनेर यमराजले छोडि दिन्छन् । यो दिन कुनै पनि विद्वान पुरुषले आफ्नो घरमा खाना खाँदैनन् ।’

दिदीले यति भनेपछि भाइले वस्त्र र एवं आभूषण सहित हर्षपूर्वक दिदीको पूजा गर्नु । उनलाई ढोगेर उनीसँग आशिर्वाद लिनु । त्यसपछि सबै दिदीबहिनीलाई एवं विधिले क्रमशः पूजा गर्दै आशिर्वाद लिनु । सहोदरा दिदी भए उनको घरमा, नत्र सहोदरा बहिनीको घरमा, सहोदरा दिदीबहिनी नभए काकाकी वा ठूलो बाकी छोरीको घरमा र ती पनि नभए फुपूका घरमा गएर आदरपूर्वक भोजन गर्नु ।

जो यसरी यमद्वितीयाको व्रत गर्दछ, उ अपमृत्युबाट मुक्त हुन्छ, छोरानातीले सम्पन्न हुन्छ र अन्तमा मोक्ष हुन्छ । यि सबै व्रत एवं दान गृहस्थका लागि नै योग्य हुन्छन् । व्रतमा संलग्न जुन पुरुष यमद्वितीयाको यो कथा सुन्दछ, उसका सबै पाप नाश हुन्छन् । भगवान् माधवले यसै भन्नु भएको छ ।

कार्तिक शुक्ल द्वितीयामा यमुना नदीमा नुहाउनेले यमलोक देख्नु पर्दैन । जसले यमद्वितीयाका दिन आफ्नी दिदीबहिनीलाई वस्त्र दान आदिले खुशी पार्दछन्, तिनलाई एक वर्षसम्म झैझगडा र शत्रुभय व्यहोर्नु पर्दैन । यो तिथिमा यमुनाले दिदीको भाइ यमराजलाई खाना खुवाएकी थिइन् । यसैले यो दिन जो दिदी बहिनीका हातले पकाएको खाना खान्छन् तिनले धन एवं उत्तम सम्पदा पाउँदछन् ।

राजाहरुले पनि यो एक दिनका लागि आफ्ना कैदीहरुलाई दिदीबहिनीका हातबाट बनेको खाना खाने व्यवस्था मिलाउन् भन्ने निर्देशन पनि स्कन्दपुराणमा दिइएको छ ।

फुपू नभए आमाका दिदीबहिनीका छोरी, ती पनि नभए मामाकी छोरी, ती पनि नभए आफ्नो गोत्रका कसैका छोरीलाई दिदीबहिनी बनाउनु । कोही पनि नभए समान वर्णका कुनै स्त्रीलाई दिदीबहिनी बनाउनु । यो पनि असम्भव भए कुनै गाई वा नदीलाई दिदीबहिनी बनाउनु । यो पनि नभए कुनै बन वा झाडीलाई दिदीबहिनी मानी त्यहाँ गएर खाना खानु । यमद्वितीयाका दिन कुनै पनि हालतमा आफ्नै घरमा खाना नखानु ।

आजभोली भाउजू वा बुहारीहरुले नन्द वा आमाजूलाई वस्त्रादि दिने चलन चलाइएको छ, यो गलत प्रचलन हो । यो प्रचलनको तिहारसँग कुनै पनि लेनादेना छैन । जे दिनु छ दाजुभाइले दिदीबहिनीलाई र दिदीबहिनीले आफ्ना दाजुभाईलाई आफ्नै हातले श्रद्धापूर्वक गच्छे अनुसार दिएर संस्कृति जोगाऔं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.