धारिलो हतियार प्रहार गरी हत्या गर्ने २ जना अभियुक्त १५ वर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2019 Dec 15 | 08:49 pm 1755

काठमाडौं, मंसिर २९: धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार रहेका दुई अभियुक्तलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट साविक गोर्स्याङ गाविस वडा नं ८ हाल तार्केश्वर गाउँपलिका वडा नं ५ का सन्त बहादुर तामाङ्ग र केशब लामा रहेका छन् ।।

 

२०६१ बैशाख २६ गते नुवाकोट साविक गोर्स्याङ गाविस वडा नं २ हालको तार्केश्वर गाउँपालिका वडा नं ५ को १५ वर्षीय
लैलु लामालाई वडा नं ४ कर्छिन्टे स्थित फ्याङबो तामाङको घरमा घेवा हेर्न गएको बेलामा उनीहरु समेत ४ जनाले टोल टोलको झगडाको विषयलाई लिएर कुटपिट गरी गम्भिर घाईते बनाएका थिए ।

गम्भीर घाइते लैलुको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएकोले कर्तव्य ज्यान मुद्दाका वारदात पश्चात हालसम्म फरार रहेका अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्तहरुलाई यही मंसिर २८ गते एकै मितिमा सन्त बहादुर तामाङ्गलाई नागार्जुन नपा वडा नं २ नाम्गेल चोकबाट र केशब लामालाई कामनपा १७ ढल्कुबाट प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको विशेष टोलिले पक्राउ गरेको प्रहरीले जानकारी दिए ।

पक्राउ परेका अभियुक्तलाई आवश्यक कारवाहीको लागि आइतबार जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाईएको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.