धादिङबाट चार किलो सुनसहित तीनजना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 04 | 11:59 am 3660

काठमाडौं, पुस २० : प्रहरीले धादिङको गजुरीबाट चार किलो अबैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ । चीनको केरुङ हुँदै रसुवागढीबाट छिराएर धादिङ पुर्‍याएको अवस्थामा प्रहरीले सुनसहित तीनजनालाई पक्राउ गरेको हो ।

गोप्य जानकारीका आधारमा प्रदेश तीनको विशेष प्रहरी टोली र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मोटरसाइकलमा लुकाएर लाँदै गरेको अवस्थामा बिहीबार पौने १० बजे उक्त सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–२ का २७ वर्षीय सञ्जीव वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ बस्ने २४ वर्षीय विकास तामाङ र त्यही ठाउँका अर्का एक युवक रहेका छन् ।

उनीहरुलाई थुनामा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। सुन उनीहरुकै हो वा कसैले भरियाका रुपमा प्रयोग गरेको हो भन्ने खुल्न सकेको छैन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.