धनगढी तनावग्रस्त, प्रहरीद्वारा ३७ सेल अश्रुग्यास प्रहार

रिपोर्ट नेपाल | 2022 Dec 02 | 03:45 pm 1249

कैलाली, मंसिर १६ः एक विद्यार्थीलाई ग्रेडरले किचेर मारेको घटनामा न्याय माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरे पनि त्यसको उल्लंघन गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमाथि दमन गर्दै प्रहरीले ३७ सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रहरीले एक दर्जन विद्यार्थी र स्थानीय महिलालाई नियन्त्रणमा लिएको छ । साथै अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारी विद्यार्थीहरुलाई तितरबितर पारेको छ ।

बिहीबार बिहान स्कुल गइरहेकी १५ वर्षीया बालिका चेतना साउदलाई धनगढी उपमहानगरपालिका- ५ स्थित पिपलचौतारा नजिक ग्रेडरले किचेर ज्यान लिएको थियो । सो घटनापछि उक्त क्षेत्रमा स्थानीयले प्रदर्शन गरेका थिए । तर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर प्रदर्शन निस्तेज पार्न खोजेको छ ।

स्थानीय र विद्यार्थीहरुले भने दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन् । क्षतिपूर्ति समेत माग गर्दै मृतक बालिका अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका हुन् ।

दोषीलाई कारबाहीको माग गर्दै निषेधाज्ञा उलङ्घन गरेर विद्यार्थी प्रदर्शनमा उत्रेपछि शुक्रबार धनगढी तनावग्रस्त बनेको छ।

धनगढीको हसनपुरस्थित पिपल चौतारा नजिक सडक बनाइरहेको ना १ क ९७५ नम्बरको ग्रेडरले छात्रा साउदलाई कुल्चेको थियो। साउदको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। ग्रेडर चालक चितवनस्थित भरतपुर नगरपालिकाका २७ वर्षीय विमल कुमाललाई प्रहरीले बिहीबारै नियन्त्रणमा लिइसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.