देशभरका सातै प्रदेशमा प्रहरी विद्यालय स्थापना गर्ने

| 2018 Sep 14 | 11:45 am 2217

काठमाडौँ, भदौ २९ :  नेपाल प्रहरीले देशको सात वटै प्रदेशमा प्रहरी आवासीय विद्यालय स्थापना गर्ने भएको छ । नेपाल प्रहरीमा कार्यरत प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्न लागेका छन् ।

पाँच विकास क्षेत्रमा स्थापना भएको प्रहरी विद्यालय अहिले देश सङ्घीयतामा गएपछि अब मलुकका सातै प्रदेशमा हुने गरी बाँकी दुई प्रदेशमा पनि थप गर्न लागिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिएका हुन् ।

गत जेठ २७ मा बसेको मन्त्रिपरिषद्को बैठकअनुसार देशका सबै प्रदेशमा प्रहरी विद्यालय पुर्याउने लक्ष्यअनुसार प्रदेश ३ को (भरतपुर) चितवन र कर्णाली प्रदेशको (छिन्चु) सुर्खेतमा प्रहरी विद्यालय स्थापना गर्न लागेका थापाले बताए ।

त्यस्तै प्रदेश १ को धरान (सुनसरी), प्रदेश २ को गरुढा (रौतहट), गण्डकी प्रदेशको को बेलचौतारा (तनहुँ), प्रदेश ५ को घोराही (दाङ) र प्रदेश ७ को धनगढी (कैलाली) का प्रहरी विद्यालयमा विद्यार्थीले यस अघिदेखि नै अध्ययन गर्दै आइरहेका छन् ।

देशका सबै प्रदेशमा माध्यामिक तहसम्म पढाइ हुने , प्रहरी विद्यालय साँगामा उच्च माध्यामिक तहसम्मको पढाइ हुँदै आएको छ । दुई प्रदेशमा विद्यालय थप गरियो भने प्रहरीबाट सञ्चालित नौ विद्यालय हुनेछन् ।

प्रधान कार्यालयले अब बन्ने नयाँ प्रहरी विद्यालयका लागि प्रहरी निरीक्षकको नेतृत्वमा २५ दरबन्दीसमेत निकाशा गरिसकेको बताएका छन् । देशका सबै प्रदेशमा विद्यालय स्थापना भएसँगै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने प्रहरी प्रधान कार्यालयले जानकारी दिएका छन् । अहिले मुलुकभर सात प्रहरी विद्यालयमा करिब छ हजार विद्यार्थी अध्ययन गरिरहेकाे जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.