कुश्मा, असोज २० : पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार देश डुबाउने खेलमा लागेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला नेकपाकै एक नेताले देश डुब्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।
पर्वतको कुश्मामा शनिबार आयोजित एक कार्यक्रमलार्इ सम्बोधन गर्ने क्रममा नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले सोचेअनुसार देश समृद्धिको बाटोमा अघि बढ्न नसके पनि हल्ला फिँजाइएजस्तो डुबीहाल्ने स्थिति नभएको बताए।
जनताका अपेक्षा असीमित रहेको र राजनीतिक सङ्क्रमणबाट भर्खर देशले मुक्ति पाएकाले तीव्र गतिमा अघि बढ्न केही समय लाग्ने बताउँदै उहाँले प्रतिपक्षले भनेजस्तो देश तत्काल डुबिहाल्ने अवस्थामा नरहेको बताए।
कुश्मामा आयोजना गरिएको नवराज बरालको उपन्यास ‘नाम’को परिचर्चा कार्यक्रममा पौडेलले भने , “प्रतिपक्षले सोचेजस्तो देश डुब्ने अवस्थामा छैन, तर अपेक्षा गरेअनुसार अघि बढ्न समय लाग्छ ।” उनले भने, “भर्खर राजनीतिक सङ्क्रमणको अन्त्य भएको छ, छिट्टै महसुस हुनेगरी समृद्धि र विकासको महसुस गर्न सकिन्छ ।”
कार्यक्रममा सांसद तथा युवा नेता पदम गिरीले वामपन्थीको सरकारले केही गरेन भन्नु कांग्रेसको झुठको खेती भएको आरोप लगाउँदै नतिजा आइहाल्ने समय नभएको बताए।