देउसी खेल्न हिँडेका ५ किशोरीलाई सुर्खेत हुँदै भारत लैजान खोज्ने दुई युवा हिरासतमा

| 2018 Nov 12 | 02:34 pm 1593

बेत्रावती, कात्तिक २६  : नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिर्इ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

नुवाकोटबाट तिहारकाे बेला हराएका पाँच किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ का २३ वर्षीय निर्मल विश्वकर्मा र नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाका २० वर्षीय विकास प्याकुरेललाई हिरासतमा राखेर अनुसन्धान गर्न उक्त अदालतले तीन दिनको अनुमति दिएको छ ।

बन्धक बनाइएका किशोरीको बयानका आधारमा नुवाकोटबाट भारततर्फ लैजान सहयोग पुर्याउने प्याकुरेललाई प्रहरीले आइतबार बट्टार बजारबाट नियन्त्रणमा लिएको थियो । विश्वकर्मालाई सुर्खेत प्रहरीले गत शुक्रबार बन्धक बनाइएका किशोरीको उद्धारको क्रममा घरबाटै नियन्त्रणमा लिएर कारवाहीको लागि शनिबार नुवाकोट प्रहरीलाई बुझाएको थियो ।

घटनामा संलग्न धेरै व्यक्ति भएकाले तिनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका १३ देखि १६ वर्ष उमेरका ती किशोरीलाई जिल्ला प्रहरीको महिला तथा बालिका सेवा केन्द्रको आश्रयमा राखिएको छ ।

कात्तिक २१ गते लक्ष्मीपूजाका दिन देउसी खेल्न भनी घरबाट हिँडेका ती किशोरीलार्ई भारतमा राम्रो काम मिलाइदिने भनी फकाएर नुवाकोटबाट सुर्खेत पुर्याएपछि प्रहरीले गत शुक्रबार उद्धार गरी आइतबार नुवाकोट ल्याएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.