काठमाडौं, असार ६ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी भदौमा हुने १४औं महाधिवेशनमा फेरि एकपटक आफू सभापतिमा उठ्ने बताएका छन् ।
सभापति देउवाले शनिबार प्रदेश १ र प्रदेश २ का आफूनिकट नेताहरूलाई बूढानीलकण्ठस्थित निवासमा बोलाएर महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे मुख खोलेका हुन् ।
सो क्रममा देउवाले महाधिवेशन निर्धारित मितिमा नै हुने र आफू पार्टीको नेतृत्वका लागि सभापतिमा एकपटक पुनः उठ्ने बताए ।
‘पार्टीको महाधिवेशन अब तोकिएकै मितिमा हुन्छ, यसमा कुनै दुई मत छैन, म सभापतिमा उठ्छु, आउने चुनावमा पार्टीलाई पहिलो बनाउने चुनौती छ, सबैले सहयोग गर्नेगरी वातावरण बनाउनुस्,’ देउवाले राखेको धारणाबारे जानकारी दिँदै केन्द्रीय सदस्य मीन विश्वकर्माले राजधानीसँग भने ।
बिहान प्रदेश १ का नेताहरूलाई भेटेका देउवाले दिउँसो भने उपसभापति विमलेन्द्र निधिसहितका नेताहरूसँग पनि छलफल गरेका थिए ।
सो छलफलमा समेत देउवाले आफू महाधिवेशनमा सभापतिका लागि भिड्ने बताएका थिए । देउवाको सो भनाइपछि उपसभापति निधिले पनि सभापतिमा आफू पनि उठ्ने जानकारी देउवालाई गराएका थिए । राजधानी दैनिकबाट