दूधे बालक बोकेर चामल माग्न बझाङबाट राजधानीमा

रिपोर्ट नेपाल | 2021 Mar 19 | 09:01 am 1993

काठमाडाैं, चैत ६ः संघीय सरकारले पर्याप्त बजेट नदिएको भन्दै योजना माग्न जनप्रतिनिधि राजधानी आउनु नौलो होइन । तर बझाङका जनप्रतिनिधि जनतालाई खुवाउने खाद्यान्न नभएको भन्दै चामल माग्न काठमाडौं आएका छन् ।

गाउँमा खाद्यान्न अभाव भएपछि चामल माग्न बझाङको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहोरा दुई वर्षको दूधे बालक बोकेर राजधानी आएकी छन् । उनीसँगै चारजना वडाध्यक्ष पनि आएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकलाई बुधबार भेटेर ध्यानाकर्षण गराएका जनप्रतिनिधिले बिहीबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश पौडेललाई पनि भेटेर चामल पठाउन आग्रह गरे ।

गाउँमा खाद्यान्न उत्पादन नभएपछि जनता भोकभोकै हुने भएकाले चामल माग्न काठमाडौं आएको उपाध्यक्ष बोहोराले बताइन् । ‘गरिब जनताले छाक टार्न अन्न पाएनन्,’ बोहोराले भनिन्, ‘चामल पठाउन सरकारलाई गुहारेका छौं ।’

यो वर्ष खडेरीका कारण खाद्यान्न उत्पादन नभएको उनले बताइन् । ‘खडेरीले स्थानीय उत्पादन पनि भएन,’ उनले भनिन्, ‘चामल नपाए जनता भोकभोकै मर्ने अवस्था छ ।’ उच्च हिमाली क्षेत्र भएकाले साइपालमा गहुँ, जौ, फापर खेती हुन्छ । यो वर्ष खडेरीका कारण अधिकांश बारी बाँझै रहेको उनले बताइन् । नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.