दुर्घटनाका घाइते बोक्न सशस्त्रका आठ एम्बुलेन्स

रिपोर्ट नेपाल | 2019 Jul 04 | 11:14 am 1742

काठमाडौं, असार १९:  घटना दुर्घटनालगायत विपद् व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सशस्त्र प्रहरी बलले सडक दुर्घटनामा परेकाहरुलाई तत्काल उद्धार गर्नका लागि एम्बुलेन्स संचालन गर्ने भएको छ ।

दुर्घटनामा परेका घाइतेहरुले अकालमा ज्यान गुमाउन नपरोस भनि सशस्त्र प्रहरी बलले सडकमै अत्यधुनिक एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । त्यसका लागि सडकमा सशस्त्र प्रहरी बलको एम्बुलेन्स २४ सै घण्टा तयारी अवस्थामा रहने जनाइएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरज श्रेष्ठका अनुसार करिब चार करोड रुपैयाँमा आठवटा एम्बुलेन्स खरिदसमेत गरिसकिएको छ ।

एम्बुलेन्सलाई उपत्यकामा एउटा र बाँकी अन्य कुरीनटार, इटहरी, कोशी व्यारेज, कैलालीको अत्तरीया, बाँके र चन्द्रौटामा राखिने जनाइएको छ । बढी दुर्घटना हुने स्थानको पहिचान गरेर एम्बुलेन्स राखिएको प्रवक्ता श्रेष्ठले बताए । एकजना स्वास्थ्यकर्मीसहित रहने एम्बुलेन्सले एकपटकमा १५ जना घाइतेलाई बोक्न सक्ने पनि श्रेष्ठले बताए ।

भारतबाट ल्याइएको एम्बुलेन्सबाट घाइतेको उपचारका लागि ठूलो मद्दत पुग्ने भएको छ ।

कतिपय स्थानमा दुर्घटना हुँदा एम्बुलेन्समा एकजना मात्रै लैजान सकिने कुरा प्रति ध्यान दिई ठूलो दुर्घटना हुँदा सशस्त्रको एम्बुलेन्सले ठूलो सहयोग पुग्ने श्रेष्ठको भनाई रहेको थियो ।

इमिडेटल रेस्पोन्स एम्बुलेन्स नामाकरण दिईएको उक्त एम्बुलेन्सबाट ठूलो राहत मिल्ने सशस्त्रको दाबी छ । सशस्त्र प्रहरी बलले पूर्व–पश्चिम राजमार्गका एक सय स्थानमा तुरुन्तै रेस्पोन्स गर्नका लागि (आईआरटी) पनि खटाएको छ ।

राजमार्गको मुख्य सडकखण्ड र सहायक गरी सय बढी स्थानमा आईआरटी टोली खटाइएको जनाइएको छ ।

पूर्व –पश्चिम राजमार्गको सुरक्षाका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालन हुने र प्रत्येक आईआरटी टोलीमा कम्तीमा १० जनाको टिम हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.