दुबै हात नभएका नायकलाई रेडनोटिस जारी

| 2019 Apr 26 | 01:18 pm 2522

काठमाडौं, वैशाख १३ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत क्रियाकलाप गर्ने जो कोहीलाई संसारको कुनै पनि कुनाबाट पक्राउ गरी कानुन अनुसारको कारबाही गर्ने बताएको हप्तादिन नपुग्दै नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने कार्यमा संलग्न रहेका ‘हिम्मतवाली’ फिल्मका नायक सुदर्शन गौतमविरुद्ध रेडनोटिस जारी भएको छ ।

उनीमाथि झण्डै साढे ८ महिनाको प्रक्रियापछि रेडनोटिस जारी भएको इन्टरपोल शाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश जोशीले जानकारी गराएका छन् । रेडनोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्ने बताइएको छ ।

क्यानाडामा बस्दै आएका गौतमले यस अघि पनि अमेरिका लैजाने भन्दै ठगी गरेको विषयमा विवादमा तानिएका थिए । गौतमको समूहले तीन नेपाली युवतीलाई अमेरिका लैजाने भन्दै हाइटी पुर्याएका थिए । फिल्म सुटिङ गर्ने भन्दै ती युवतीलाई हाइटी लगिएको बताइएको छ ।

हाइटीबाट अमेरिका पानीजहाजबाट लैजाने क्रममा जहाज बिग्रेपछि उनीहरु त्यहाँ अलपत्र परेका थिए । अमेरिकन दूतावासको सहयोगमा नेपाली युवतीहरुलाई नेपाल फर्काइएको थियो । अनुसन्धानकै क्रममा सुदर्शन गौतमको समेत संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरी उनलाई नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)लाई पत्राचार गरेको थियो ।

रेखा थापाले निर्माण गरेको हिम्मतवाली फिल्ममा अभिनय गरेका गौतम केही वर्ष पहिले विश्वको उच्च सगरमाथा चढेर दुनियालाई चकित पारेका थिए । दुबै हात नभएका गौतमले पीडित युवतीसँग मोटो रकम लिएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.