दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ 

रिपोर्ट नेपाल | 2023 May 22 | 08:44 am 1437

काठमाडाैं, जेठ ८ः दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गा.पा. वडा नं. ६ कात्तिके देउराली स्थाई घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा. वडा नं. १० कपन आकाशेधारा बस्ने वर्ष २९ का उमेश रिमाल रहेका छन् ।

उनले अनिष श्रेष्ठ समेत १७ जनालाई वैदेशिक रोजगारीको लागि दुबईमा जानको लागि प्रतिव्यक्ति रु. २ लाख रुपैयाँ  लाग्छ, दुबई पुगेपछि कुखुरा फार्ममा काम लगाइदिन्छु मासिक रु. ५० हजार भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी ठगी गरेका थिए ।

पीडितहरुबाट पटकपटक गरी जम्मा रु. ९ लाख ५० हजार रुपैयाँ  रकम लिई सम्पर्क विहीन भएकाले वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा  विशेष प्रहरी टोलीले निज उमेश रिमालको खोजतलास गर्ने क्रममा मिति २०८०।०२।०७ गते का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको छ।

भारतिय पर्यटकहरु उपर डाँका-चोरी गर्ने व्यक्तिहरू पक्राउ

मिति २०८०/०२/०३ गते राती काठमाण्डौ का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थित डान्सबारमा भारतिय पर्यटकहरू जगदिश प्रसाद शर्मा, सन्तोष कुमार शर्मा र अञ्जनि पारिक समेतलाई जबरजस्ती डर त्रास देखाई निजहरूको साथमा भएको नगद लुट्ने तथा मोबाईल फोनबाट रकम ट्रान्सफर गराई डाँका-चोरी भएको छ ।

उक्त घटनाको अनुसन्धानको सिलसिलामा विशेष अनुसन्धान टोलीले मिति २०८०।०२।०५ गते उक्त डाँका-चोरी घटनामा संलग्न व्यक्तिहरुलाई का.म.न.पा. वडा नं. २९ सिंहदरबार दक्षिणगेट अगाडीबाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात: अनुसन्धानको लागि प्रहरी वृत बानेश्वर, काठमाण्डौ पठाईएकोमा सम्मानित जिल्ला अदालतबाट ४ दिनको म्याद थप भई थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

पक्राउ पर्नेहरूमा नुवाकोट , तारकेश्वर गाउँपालीका वडा नं.०४ सिम्ले हाल  का.म.न.पा वडा नं. १६ बालाजु ,माछापोखरी ३२ वर्षीय पदम बहादुर शाही र कैलाली, धनगढी उ.म.न.पा. वडा नं. ३ हाल का.म.न.पा. वडा नं. ३१ वानेश्वर बस्ने ३३ बर्षीय पुरन भन्ने ओम प्रकाश ऐरी रहेका छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.