दुई हजार वर्षपछि भक्तपुरको बिस्का जात्रा स्थगित

रिपोर्ट नेपाल | 2020 Apr 09 | 09:31 am 1422

भक्तपुर, चैत २७ः विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण भक्तपुरको चिनारीका रूपमा रहेको बिस्काः जात्रा अर्थात् बिस्केट जात्रा यसपालि नमनाइने भएको छ । देशमा अनिकाल, रोग, व्याधि, शत्रु नाशको कामना गर्दै मनाइने बिस्काः जात्रा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नै रोकिन पुगेको हो ।

भक्तपुरको सबैभन्दा लामो बिस्काः जात्रा २७ चैतको बेलुकादेखि सुरु हुँदै छ । आठ दिन नौ रातसम्म मनाइने बिस्काः भक्तपुरको लामो र मुख्य जात्रा हो । स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ ।

भक्तपुर नगरको केन्द्रमा अवस्थित पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु हुन्छ । यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ ।

तर, भक्तपुरमा बिस्का जात्रा सुरु नहुँदै कोरोनाका कारण लकडाउन हुँदा बिस्का जात्रामा प्रयोग हुने तीनतले रथले पूर्णतासमेत पाउन सकेको छैन । पाँचतले मन्दिरको आँगनमा निर्माणको पर्खाइमा नै रथका विभिन्न पाटपुर्जा छरिएर रहेका छन् ।

गुठी संस्थानले यो वर्ष नयाँ रथ बनाउन बेतसीलगायत छानाका विभिन्न भाग तथा चारैवटा पांग्रा नयाँ निर्माण गराएको भए पनि यस वर्ष भैरवनाथको रथ भक्तपुरमा नगुड्ने भएको छ ।

हजारौं मानिसको भीडले पाँचतले मन्दिरको तल र माथि गरी तान्ने प्रचलन रहेको सो जात्रा यो वर्ष भने केवल पूजाआजामा मात्र सीमित हुने भएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.