काठमाडौं, जेठ २ : प्रहरीले सर्लाहीको लालबन्दीबाट दुई सय १० किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिकाको दुई अलग स्थानबाट प्रहरीले गाँजा बरामद गरेको हो ।
लालबन्दी नगरपालिका ९ मा बेवारीसे अवस्थामा भेटिएको भारतीय नम्बर प्लेटको जीपबाट १ सय ५० किलो बरामद भएको प्रहरीले जनाएको छ । त्यसैगरी लालबन्दी ६ का संगम लामाको घरमा लुकाएर राखेको ६० किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।
गाँजासहित लालबन्दी नगरपालिका–७ का ३७ वर्षीय सरोजजंग घिमिरे र पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १८ का १८ वर्षीय सिधु सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
सिमा जोडिएको सिन्धुली जिल्लाको क्यानखोला र मरिण क्षेत्रमा उत्पादन हुने गाजा सर्लाहीका विभिन्न भाग हुँदै भारतीय बजारमा पुग्ने गरेको प्रहरीले जनाएको छ ।