दुई जेसीबी प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2023 May 22 | 07:55 am 1509

कपिलवस्तु, जेठ ८ः मापदण्डविपरीत नदीजन्य पदार्थ अनियन्त्रित दोहन गरिरहेका दुई जेसीबी प्रहरीले नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिका–९ शिवगढी भक्रम खोलाको ठेक्का लिएको राधारोशन निर्माण सेवाले अनियन्त्रित दोहन गर्दै आएको स्थानीय दाबी छ ।

स्थानीय गुनासोपछि अनुगमन क्रममा नगरप्रमुख अजय थापाले अनियन्त्रित दोहन भइरहेको फेला पारेको बताए । सुरक्षाकर्मीसहितको टोलीले अनुगमन क्रममा लु१क ३३५३ र लु१क ४७७८ नम्बरको जेसिबीले उत्खनन गरिरहेको अवस्थामा फेला परेको हो ।

खोलामा अनियन्त्रित दोहन भएको पाइएकाले आवश्यक कारबाही प्रक्रिया अघि बढाइने नगरप्रमुख थापाले जानकारी दिए । २७ मंसिर २०७९ मा पालिकाले सूचना प्रकाशित गरी २५ लाख ५१ हजार १ सय ५१ ठेक्का लागेको थियो ।

८ हजार ८५ दशमलव ६० घन मिटर नदीजन्य पदार्थ निकाल्न पाउनेगरी ठेक्का लागे पनि ठेकेदार कम्पनीले त्यसको दोब्बरतेब्बर माल निकासी गरिसकेको स्थानीय बताउँछन् । आगामी ३२ जेठमा ठेक्का अवधि सकिने भएकाले ठेकेदार कम्पनीले अनियन्त्रित दोहन झनै तीव्र पारेको पाइएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.