दुई घरको बीचमा सुतली बम फेलाः नेपाली सेनाकोद्वारा निष्क्रिय

रिपोर्ट नेपाल | 2021 Mar 29 | 08:44 am 2765

हुम्ला, चैत १६ः सिमकोट गाउँपालिका– २ स्थित ठेहेगाउँको दुई घरको बीचमा फेला परेकाे सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर गरेपछि सदरमुकाम सिमकोटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

प्रहरीका अनुसार गाउँका पुराना घर पुनःनिर्माण गर्ने क्रममा लुकाएर राखिएको अवस्थामा एक सुतली बम र एक सकेट बम भेटिएको थियो । उक्त बमसँगै पुरानो जनादेश पत्रिका पनि भेटिएकाले उक्त बम तत्कालीन माओवादीले शुरु गरेको सशस्त्र द्वन्द्वका क्रममा राखिएको हुनसक्ने अनुमान गरिएको छ ।

बमसँगै राखिएको जनादेश पत्रिका विसं २०६१ चैत २ गतेको भएकाले बम पनि सोही समयमा राखिएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । दुई घरको आडमा बम र पत्रिका एउटै प्लाष्टिकले बेरेर राखिएको अवस्थामा फेला परेको ठेहे प्रहरी चौकीले जनाएको छ ।

ठेहेका तुला रावल र लोग भण्डारीको घरको बीच भागमा भेटिएको बमका बारेमा प्रहरीले गरेको सूचनाका आधारमा आइतबार सिमकोटबाट खटिएको नेपाली सेनाका सुवेदार केदार थापा नेतृत्वको टोलीले बम भेटिएको स्थानबाट करिब ५०० मिटर टाढाको खोलामा लगेर डिस्पोज गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.