काठमाडौं, फागुन १५ः नेपालमा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै गएको भए पनि कोरोना पूर्ण रूपमा निर्मूल भने भईनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्– ‘कोरोना संक्रमण केही मत्थर भएको र युटर्न भएर पहिलाको जस्तो महामारीको अवस्थामा नआउला । खोप लगाउने क्रम पनि जारी छ, नयाँ स्वरूप आए पनि दोस्रो लहरको जस्तो सम्भावना कमै देखिन्छ ।’
अहिलेको मुख्य चासो भनेको जो पहिला संक्रमणमा नपरेका, दीर्घरोगी, खोप लगाउन छुटेका व्यक्तिहरूलाई खतरा हुने हो कि भन्ने छ । ओमिक्रोन भेरियन्टले युटर्न लिन सक्ने सम्भावना भने आफूले नदेखेको डा. पुन बताउछन् ।
यता कोरोना संक्रमण मत्थर भएसँगै संसद् चालु गर्ने, एमसीसी जसरी पनि पारित गराउने र अहिलेकै अवस्थामा पारित गर्नुहुन्न भन्ने दुई पक्षको विवादले माइतीघरदेखि बानेश्वरसम्मको सडक युद्धभूमिजस्तै बनेको छ । सडकमा युवा शक्ति र प्रहरीबीच हरेक दिने हुने भीडले कोरोनालाई पुनः बिउँझाउने त हैन भन्ने अर्को त्रास भने पुनः सिर्जना भएको छ ।
यति मात्र नभई हरेक दिन सडकमा मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक अश्रुग्याँस हानाहानको स्थितिले आँखा पिरो हुने, श्वास प्रश्वासमा गम्भीर खालका समस्या हुने र मानसिक तथा शारीरिक रूपमा कालान्तरमा असर गर्ने स्वास्थ्यकर्मीको ठम्याइ छ । एकातिर कोरोना संक्रमण पुनः फैलिएला भन्ने त्रास छ भने अर्कोतर्फ दीर्घरोगी बढाउने सम्भावना उत्तिकै बढेको छ । नेपालमा अहिले समस्या देखिएर र विदेश जानैपर्ने अवस्थामा मात्र परीक्षणमा आएका छन् । यसको प्रमुख कारण ओमिक्रोनले पहिलाको डेल्टा भेरियन्टले जस्तो बढी समस्या नभएकै कारण परीक्षण घटेको डा. पुन बताउछन् ।
विभिन्न मुलुकको नियमअनुसार पीसीआर परीक्षण र खोपको कार्डलाई अनिवार्य गरिएको पाइन्छ । ज्येष्ठ नागरिक र बालबालिकाहरू अझै खोप लगाउन के कति बाँकी छन् भन्ने बारेमा यकिन तथ्याङ्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रेकर्डमा पाउन सकिँदैन । कोरोना संक्रमणमा परी मृत्यु हुनेको ठूलो संख्या ज्येष्ठ नागरिकको भएको र उनीहरूले खोप लगाएको या नलगाएको भन्नेबारेमा यकिन तथ्यांक स्वास्थ्य मन्त्रालयको तथ्यांकमा स्पष्ट देखिन्न । टेकु अस्पतालको तथ्याङ्क हेर्दा अझै पनि खोप नलगाएका र दीर्घरोगीको कोरोना संक्रमणका कारण मृत्यु भएको पाइएको डा. पुन बताउछन् । खोप अनिवार्य रूपमा लगाउन र स्वास्थ्य मापदण्डको पालना गरेर मात्र आफ्नो कामलाई चालु गर्न डा. पुनले आग्रह गरेका छन् ।
सबैको पहुँचमा खोप पुर्याउन परराष्ट्रमन्त्रीको आह्वान
यसै विषयमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको महामारी विश्वव्यापी साझा समस्या भएकाले खोपमा सबैको पहुँच पुर्याउन र त्यसलाई सस्तो बनाउन अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेका छन् ।
संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्षले विश्वव्यापी खोपसम्बन्धमा आयोजना गरेको उच्चस्तरीय बहसलाई शनिबार सम्बोधन गर्दै मन्त्री खड्काले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम भएको बताए ।
कोरोनाका विकासोन्मुख देशहरू आर्थिक चुनौतीको मारमा परेकाले अर्थतन्त्रलाई पुनरुत्थान गर्न लचिलो योजना र स्रोतको परिचालन अत्यावश्यक भएको मन्त्री खड्काले आफ्नो धारणा राख्ने क्रममा बताए ।
उनले नेपालजस्तो विकासोन्मुख मुलुकलाई छिमेकी मित्रराष्ट्रदेखि विकास साझेदार र गाभी कोभ्याक्सको सहयोगमा समयमै कोरोनाविरुद्धको खोप लगाउने सुनौलो अवसर प्रदान गरेको भन्दै प्रगति विवरण प्रस्तुत गरे । उनले २०७८ चैत मसान्तसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य निर्धारण गर्न वातावरण बनाउने सहयोगीहरूप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे ।
संयुक्त राष्ट्रसंघको ७६ औं महासभाको प्राथमिकताका विषयका रूपमा ‘कोभिड–१९ बाट मुक्ति’लाई केन्द्रमा राखेर महासभाका अध्यक्षले बहस आयोजना गरेका हुन् । उक्त कार्यक्रममा १ सय २० भन्दा बढी मुलुकका नेताहरूले भाग लिएका छन् । नेपाल समाचारपत्रबाट