दाेलखामा आगलागी हुँदा ४ घर जलेर नष्ट, एक कराेड ९७ लाख बराबरकाे क्षति

रिपोर्ट नेपाल | 2019 May 26 | 12:18 pm 1597

दोलखा, जेठ १२: आइतबार बिहान आगलागी हुँदा कालिञ्चोक गाउँपालिका वडा नम्बर–८ सुनखानीमा रहेको सोती बजारमा पसलसहितको ४ ओटा घर जलेर नष्ट भएकाे छ । अन्य दुईवटा घरमा पनि सामान्य क्षति पुगेको छ ।

सोती बजारस्थित रहेको घनश्याम उप्रेति, चित्रबहादुर खरेल, राजेन्द्र सेढाई र नारायणप्रसाद शिवाकोटीको घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।साथै पदमराज शिवाकोटी र विष्णु शिवाकोटीको घरमा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजीत तामाङले जानकारी दिए ।

क्षति पुगेका घर मध्ये उप्रेतिको इलेक्ट्रोनिक पसल, खरेलको होटल, सेढाइको होटल र पसल सञ्चालनमा थियाे भने राजेन्द्र सेढाइको घरमा बासु खरेलले होटल सञ्चालन गरेका थिए । होटल र पसल सञ्चालन गरिएका घरहरुमा आगलागी हुँदा करिब एक करोड ९७ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताए ।

उक्त आगलागीका कारण सुनखानीको ठकर्पुमा रहेको विद्या विकास बोर्डिङ स्कुलको पार्क गरिराखेको बा १३ च ३४८४ नम्बरको स्कुल बसमा समेत क्षति पुगेको छ । राति साढे एकबजेदेखि लागेको आगो नियन्त्रणका लागि भिमेश्वर नगरपालिकाको दमकल, सुरक्षाकर्मीसहित स्थानीयबासीन्दाले बिहान ८ बजे नियन्त्रणमा लिएका थिए । आगलागी कसरी भयो भन्नेबारे पत्ता लाग्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.