दार्चुलाकाे छाङरु र तिङ्करको जोड्ने बाटो पूर्ण रुपमा अवरुद्ध

| 2021 Jun 27 | 02:29 pm 1797

दार्चुला, असार १३ः दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र जोड्ने बाटो पूर्ण रुपमा अवरुद्ध बनेको छ । बाटो अवरुद्ध भएसँगै त्रिदेशीय सीमा क्षेत्रका गाउँहरु छाङरु र तिङ्करको दार्चुला सदरमुकाम खलंगाबाट सम्पर्क विच्छेद भएको छ ।

असार महिना सुरु भए यता भएको बर्षादका कारण ब्यास गाउँपालिका–१ जोड्ने बाटो क्षतविक्षत बनेको ब्यास गाउँपालिका–१ का वडाध्यक्ष असोकसिह बोहराले जानकारी दिए । भौगालिक कठिनाइले दुम्लिङदेखि छाङरु जोड्ने बाटो अधिकाशं ठाउँमा महाकाली नदी किनारै किनार लगिएको छ । भारतले धार्चुला–लिपुलेक सडक निर्माण गरिरहेकाले हाल महाकाली नदीमा माटो र ढुङ्गा भरिएको छ । यसले महाकाली नदी थुनिले र नेपाल तर्फको बाटोमा क्षति हुने गरेको उनले बताए।

सीमा क्षेत्र जोड्ने नेपाल तर्फको बाटो पूर्ण रुपमा अवरुद्ध भएकाले नेपालको बाटो भएर छाङरु र तिङ्कर आवत जावत गर्न सम्भव नरहेको वडाअध्यक्ष बोहराले बताए । त्रिदेशीय सीमा क्षेत्र जोड्ने बाटो अवरुद्ध हुँदा मानिसहरुको आवतजावतका साथै खाद्यान्न तथा निर्माण समाग्री ढुवानीमा समेत समस्या भएको छ ।

छाङरु र तिङ्कर गाउँमा सात महिनादेखि सञ्चार सेवा समेत अवरुद्ध छ । हिमपातका कारण बिग्रिएको सञ्चार सेवा हालसम्म सुचारु नभएको स्थानीयको गुनासो छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.